त्रिशूली । नुवाकोटको विदुर नगपालिकाको विभिन्न वडाको मुख्य बजार क्षेत्रको ढल व्यवस्थापनको लागी “विदुर ढल निर्माण तथा प्रशोधन आयोजना”को काम सुरु भएको छ ।संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना चितवन मार्फत सञ्चालन गर्न लागिएको आयोजनाको आज (शुक्रबार) विदुर नगरपालिकाको नगरप्रमुख राजन श्रेष्ठले शुभारम्भ गर्नुभएको हो ।
विदुर नगरपालिकाको मुख्य–मुख्य बजार क्षेत्र भएर बग्ने ढललाई एकीकृत गर्न र त्यसलाई प्रशोधन गरेर शुद्ध बनाउन निकै महत्वको रुपमा लिइएको आयोजनालाई तोकिएको समय भित्रै सम्पन्न गर्न नगरपालिकाको तर्फबाट नगरप्रमुख राजन श्रेष्ठले सहयोगको प्रतिबद्धता जनाउनुभएको छ ।

अहिले निर्धारण गरिएको वडा नं. २, ४, ५ र ६ को बढी जनघनत्व भएको क्षेत्र र केहीवडाहरु थप गर्नको लागी पहल गरिने नगरप्रमुख राजन श्रेष्ठले बताउनुभएको छ । संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना चितवन मार्फत ठेक्का लगाइएको पहिलो चरणको पाइप विस्तार कार्यक्रमको आज शुभारम्भ गरेर काम सुरु भएको हो भने एकीकृत हुने ढललाई प्रशोधन गर्नको लागी ‘प्रशोधन केन्द्र’ निर्माण गर्न अब दोश्रो चरणको ठेक्का लगाउन लागिएको छ ।
अहिले चारवटा वडाको मुख्य बजार क्षेत्रमा २०० एम.एम.देखि ८०० एम.एम.सम्मको ‘डबल वाल कोरुगेटेड’ एच.डि.पि.ई. पाइप विछ्याइने संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका ईञ्जिनियर अमृत भण्डारीले जानकारी दिनुभएको छ ।

उहाँको अनुसार चावरवटा वडाको जनघनत्व बढी भएका बजार क्षेत्र भएर बग्ने ढललाई व्यवस्थित बनाउन प्रशोधन केन्द्रसम्म पु¥याउनको लागी २४ किलोमिटर पाइप बिछ्याउन लागिएको हो । त्यसको लागी आयोजनाको कार्यालयले ४५ करोड ८२ लाख रुपैयाँमा शर्मा–सगुन जेभीलाई निर्माणको जिम्मेवारी दिएको छ ।
निर्माण व्यावसायीसंग गएको जेठ १२ गते भएको सम्झौता अनुसार ३० महिना भित्र अर्थात आगामी २०८१ मंसिर १२ गतेसम्ममा पाइप बिछ्याइसक्नुपर्ने जिम्मेवारी दिइएको छ ।
23.88¡ÆC