रसुवामा तातो क्षेत्र खोज्दै हिँड्ने वन्यजन्तुबाट सावधानी अपनाउन आग्रह

मंसिर २५, २०७९ मा प्रकाशित | 252 views

रसुवा । रसुवाको उच्च भागमा चिसो बढ्दै गएका कारण तातो क्षेत्र खोज्दै हिँड्ने वन्यजन्तुबाट पैदल यात्रामा मानिसलाई जोखिम बढ्न थालेको छ ।

जङ्गली भालु मानव बस्तीको नजिक आउन थालेको र केही दिन अघि एक व्यक्तिलाई घाइते समेत बनाएपछि जोखिम महसुस भएको हो । मानिस आक्रमणको साथै आय आर्जनका लागि किसानले पालन गरेका बङ्गुरको पाठा समेत जङ्गली भालुले आक्रमण गर्ने गरेको पाइएपछि साँझ बिहान नेपाली सेनाको सुरक्षा गस्ती खटाउने व्यवस्था मिलाइएको लाङटाङ राष्ट्रिय निकुञ्जले जनाएको छ ।

जङ्गली भालुले धुञ्चेको इमरुङ तथा केबु, भार्खु क्षेत्रमा बढी दुःख दिन थालेको स्थानीय बासिन्दाले बताएका छन् । धुञ्चेस्थित मत्स्य अनुसन्धान केन्द्रको गोदाममा राखिएको माछाको दाना समेत केही समय अगाडि भालुले नोक्सान गरेको थियो ।

पोखरीमा पालिएको माछालाई खुवाउन गोदाममा राखिएको दाना हराएपछि पत्ता लगाउन भोलिपल्ट सिसीटिभी हेर्दा जङ्गली भालुको टाउकाले झ्यालको सिसा फोडी खाएको भेटिएको मत्स्य केन्द्रले जनाएको छ । जङ्गली भालुको त्रास न्यूनीकरण गर्न लाङटाङ राष्ट्रिय निकुञ्जको सुरक्षामा तैनाथ नेपाली सेनाले अह्रोरात्र गस्ती गरी मानव तथा वन्यजन्तु दुवैलाई सुरक्षा प्रदान गरिरहेको निकुञ्जले जनाएको छ ।

बढी चिसो भएपछि प्रायजसो जनावर तातो स्थान खोज्दै डुल्ने भएका कारण बिहान बेलुका बासस्थानबाट एक्लै बाहिर ननिस्कन, घाँस दाउरामा सचेत रहन अनुरोध गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web