त्रिशुली । नुवाकोटको दुप्चेश्वर गाउँपालिकास्थित दुप्चेश्वर मन्दिरमा धान्यपूर्णिमा मेला सुरु भएको छ । हरेक वर्ष मार्ग शीर्ष शुक्ल पक्ष, मोक्षदा एकादशीदेखि सुरु भएर धान्य पूर्णिमासम्म लाग्ने मेला भर्न देशका विभिन्न स्थानबाट दर्शनार्थीहरु आउनेक्रम जारी रहेको छ ।
यो वर्ष मंसिर ७ गते अन्नशुक्र समापन भएदेखि नै दर्शनार्थीको भिड लाग्न थालेको दुप्चेश्वर क्षेत्र विकास कोषका अध्यक्ष किशोर आचार्यले जानकारी दिनुभएको छ ।
मेलाको मुख्य रौनक सुर हुने दिन शनिबार समेत परेकाले एकै दिन एक हजार भन्दा बढीले दुप्चेश्वर महादेवको दर्शन गरेका छन् ।
मेलालाई लक्षित गरेर दुप्चेश्वर मन्दिर परिसरमा बजार, पसल सञ्चालनमा ल्याइएको छ । दर्शनार्थीको सहजताका लागि दुप्चेश्वर गाउँपालिकासँगको समन्वयमा दुप्चेश्वर क्षेत्र विकास कोषले दर्शनार्थीको लाइन व्यवस्थापन, सुरक्षा व्यवस्थपन, भेटी व्यवस्थापनका सहित सवारी साधन पार्किङ व्यवस्थापन प्रभावकारी रुपमा मिलाएको जनाएको छ ।
सवारी साधनको सहज आवागमनका लागि कोषले प्रहरी र स्वयम् सेवकको व्यवस्था गरेको बताउदै यसअघिका वर्षहरुमा जस्तो यो पटक भिडभाड कम भन्दा कम गराउने पार्किङस्थल प्रयाप्त रुपमा मिलाएको जनाएको छ । त्यसैगरी सुरक्षा व्यवस्थापनका लागि सशस्त्र प्रहरी र नेपाल प्रहरी गरी करीब ६० जना सुरक्षाकर्मी मेलामा खटाउन दुप्चेश्वर क्षेत्र विकास कोषले नुवाकोट प्रशासन समक्ष अनुरोध गरेको छ । यसैगरी स्थानिय एकसय जना भन्दा बढी स्वंयम सेवक युवाहरु दर्शनार्थीको लाम व्यवस्थापनमा खटिएका छन् ।
दुप्चेश्वर गाउँपालिकासँगको समन्वयमा रामती बजारदेखी मन्दिरसम्म आउजाउलाई सीसीटीभी क्यामेरा समेत जडान गरेर सुरक्षा प्रबन्ध मिलाइएको छ ।
दुप्चेश्वर मन्दिर सूर्यमती अर्थात तादी खोलाबाट करीब २०० मिटर अग्लो पहाडको विशाल शिलामा अर्ध वृत्ताकार भागको केन्द्रमा अवस्थित प्राकृतिक शिवलिंगको रुपमा रहेकाले सानो पशुपति नाथको रुपमा पुज्ने गरिएको छ । जनश्रुति अनुसार करीब साढे चारसय वर्षअघि यही समयमा पत्ता लागेको दुप्चेश्वरमा त्यसयता धान्यपूर्णिमामा मेला लाग्ने गरेको मन्दिरका पुजारी भगवानहरि धितालले बताउनुभएको छ ।
मेलालाई लक्षित गरेर दुप्चेश्वर भन्दा तलको गोगनचउर भरिभराउ भएका छन् । धार्मिक अनुष्ठानदेखी, स्वास्थ्य शिविर र व्यापारिक बजार पसलहरुले गोगनचउर ढाकेको छ ।
त्यसबाहेक मुख्य द्वारदेखी मन्दिरसम्म आउजाउ गर्दा दर्शनार्थीले भक्ति संगीत सुन्ने प्रवन्ध समेत मिलाइएको छ । त्यसका लागि मुख्य ढोकादेखी नै दुप्चेश्वर परिसरका हरेक कुना कुनामा सोही अनुसारको प्रबन्ध मिलाइएको वडा नं. ६ का वडाध्यक्ष एंव दुप्चेश्वर क्षेत्र विकास कोषका अध्यक्ष किशोर आचार्यले जानकारी दिनुभएको छ ।
‘जे माग्यो त्यही सिद्ध गराउने’ भगवानको रुपमा पुजिने दुप्चेश्वर महादेवले सन्तान मध्ये पनि पुत्रलाभ गराउने र गाईभैसीको दाम्लो चढाएमा ब्याउने भाकल गर्न र पूरा भएको भाकलको पूजा गर्न भक्तजनहरु मन्दिरमा पूजा दोहो¥याउन जाने भएकाले एक पटक पुगेका भक्तजनहरु पुनः अर्को वर्ष जाने भएकाले हरेक वर्ष भक्तजनहरुको सङ्ख्यामा बृद्धि हुदै गएको मन्दिरका पण्डित भगवानहरी धितालले बताउनुभएको छ ।
समुन्द्र मन्थन गर्दा निक्लिएको विष सेबनपछि छट्पटिनुभएका श्रीमहादेव शिव पशुपतिनाथ मन्दिर हुँदै दुप्चेश्वरमा बास बसेर गोसाईकुण्ड गएको किम्वदन्ती समेत रहदै आएको छ । मेलाको विशेष रौनक पूर्णिमाको अघिल्लो दिन रातदेखि पूर्णिमाको दिनमा दिनभर यही मंसिर २२ गते हुने भएपनि शनिबार एकादशी देखि नै मेलाको रौनक सुरु भएको हो ।
20.08¡ÆC