पोखरा विमानस्थल सञ्चालनका लागि तयार

मंसिर १३, २०७९ मा प्रकाशित | 329 views

कास्की । राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि तयार भएको छ । पोखरा विमानस्थल सञ्चालनयोग्य भएसँगै नेपालमा अन्तर्राष्ट्रिय विमानस्थलको सङ्ख्या तीन पुगेको छ ।

विमानस्थलमा एक हप्ता लामो यान्त्रिक परीक्षण उडान क्यालिब्रेशन फ्लाइट सफलतापूर्वक सम्पन्न भएसँगै अन्तर्राष्ट्रिय उडानका लागि तयार भएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिनुभयो । ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यान्त्रिक उडान सफलताका साथ सम्पन्न भइसकेको छ’, उहाँले भन्नुभयो, ‘यान्त्रिक उडानको प्रतिवेदन १५ दिनभित्र आएपछि सार्वजनिक गरिनेछ ।’

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ७१ वर्षपछि देशभित्र दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा रुपन्देहीको भैरहवामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको थियो । त्यसको छ महिनापछि पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनयोग्य भएको हो । थाइल्यान्डको एरोथाई कम्पनीको जहाजले यही मङ्सिर ५ देखि ११ सम्म यान्त्रिक उडान गरेको थियो । यान्त्रिक उडान विमानस्थलमा जडान भएका सञ्चार उपकरणले काम गरे÷नगरेको परीक्षणका लागि गरिन्छ । यान्त्रिक उडानमार्फत पोखरा विमानस्थलमा रहेका एअर ट्राफिक कन्ट्रोलर, टावर, धावनमार्ग र विमानस्थलमा जडान भएका सञ्चार उपकरण परीक्षण गरिएको क्यानले जनाएको छ । यान्त्रिक परीक्षण सफल भएपछि मात्रै व्यावसायिक उडान सञ्चालन गरिने अन्तराष्ट्रिय अभ्यास छ ।

क्यानले आउँदो पुस १७ देखि पोखरा विमानस्थलमा व्यावसायिक उडान सञ्चालन गर्ने घोषणा गरिसकेको छ । प्राधिकरणको राष्ट्रिय गौरवका आयोजना निर्देशक बाबुराम पौडेलले यान्त्रिक परीक्षणको प्रतिवेदन क्यानले स्वीकृत गरेपछि एरोनोटिकल इन्फर्मेसन पब्लिकेसन (एआईटी) मा प्रकाशन गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘प्रतिवेदनका आधारमा अन्तर्राष्ट्रिय विमान कम्पनीहरूमा विमानस्थल सम्पूर्ण हिसाबले उडानका लागि तयार भएको जानकारी लिन्छन् र पोखरा गन्तव्यमा उडान गर्न सक्छन् ।’

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख विक्रम गौतमले आफूहरू विमानस्थल सञ्चालनको तयारीमा लागेको र कुनै पनि किसिमका कमजोरी हुन नदिन विमानस्थल प्रतिबद्धताका साथ लागेको बताउनुभयो । अहिले विमानस्थल सञ्चालनका लागि आवश्यक जनशक्तिको व्यवस्थापन भइसकेको छ । अध्यागमन, भन्सार, मेडिकल, सुरक्षा व्यवस्थालगायत सम्पूर्ण तयारी एक महिनाभित्र पूरा हुने उहाँले जानकारी दिनुभयो ।

तीन हजार नौ सय रोपनी क्षेत्रफलमा फैलिएको पोखरा विमानस्थल झन्डै २२ अर्ब रुपैयाँमा निर्माण भएको छ । विमानस्थलमा दुई हजार पाँच सय मिटर लम्बाई र ४५ मिटर चौडाइको धावनमार्ग रहेको छ । उडान सञ्चालनअघि विमानस्थलको पूर्वपट्टि पर्ने रिट्ठेपानी डाँडा कटानको पहिलो चरणअन्तर्गत १६ मिटर कटान कार्य सकिएको प्राधिकरणले जनाएको छ । धावनमार्गको ‘अप्रोच’ पर्ने भएकाले ४० मिटर डाँडा काटेर समतल बनाइनेछ । बाँकी २४ मिटर काट्न बाँकी छ ।

ठेकेदार कम्पनी उमा एण्ड गाल्भा जेभीसँग वैशाखसम्ममा डाँडा कटान गरिसक्नुपर्ने सम्झौता छ । विमानस्थल सञ्चालनका लागि चुनौतीका रूपमा रहेको ल्यान्डफिल साइटमा मङ्सिर १८ बाट फोहर फाल्न बन्द गर्ने जानकारीसहितको पत्र पोखरा महानगरपालिकाले विमानस्थल आयोजनालाई पठाइसकेको छ । अहिले विमानस्थलबाट दुई किलोमिटर टाढा रहेको ल्यान्डफिल साइट रिट्ठेपानी डाँडा कटानबाट निस्किएको माटोले पुर्ने काम भइरहेको महानगरले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web