स्थिर समयमा आचारसंहिता विपरीत काम गरे २५ हजार रुपैयाँसम्म जरिबाना

मंसिर १, २०७९ मा प्रकाशित | 257 views

काठमाडौँ । आउँदो ४ गते आइतवार हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावका लागि आज राति १२ बजेदेखि स्थिर समय लागू हुँदैछ ।

निर्वाचन आचारसंहिता, २०७९ अनुसार मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुञ्जेलसम्म यो अवधि लागू रहन्छ।

आउँदो आइतवार बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान हुँदैछ । स्थिर समयमा राजनीतिक दलका पदाधिकारी, उम्मेदवार, दलको भ्रातृ सङ्गठन वा सम्बन्धित व्यक्तिले पालना गर्नुपर्ने आचरणका सम्बन्धमा आचारसंहितामा उल्लेख छ । यस अवधिमा चुनाव प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तर्क्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि गर्न पाइँदैन ।

यसैगरी मतदान हुने दिनको ४८ घण्टाअघि मतदानस्थलको तीन सय मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचारप्रसारका सामग्री हटाउनुपर्ने आचारसंहितामा उल्लेख छ ।

स्थिर समयमा कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न र चुनाव प्रचारप्रसार गर्न नहुने, सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसारका लागि सामग्री पोष्ट वा सेयर गर्न वा गराउन हुँदैन ।

ऐनअनुसार प्रावधान विपरीतको कार्य गर्नेलाई निर्वाचन आयोग, निर्वाचन अधिकृत वा अनुगमनकर्ताले २५ हजार रुपैयाँसम्म जरिबाना गर्न सक्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web