त्रिशुली । आगामी आम निर्वाचनको लागी नुवाकोटमा दुईवटा अस्थायी मतदान केन्द्र स्थापना गरिने भएको छ । यो पटकको चुनावदेखि कारागारमा रहेका बन्दीले समेत मतदान गर्न पाउने भएसगैँ उनीहरुको लागी जिल्ला कारागारमा र जिल्लाभर रहेका सरकारी कर्मचारीहरुको लागी जिल्ला प्रहरी कार्यालय नुवाकोटमा अस्थायी मतदान केन्द्र खडा गरिएको हो ।
अस्थायी मतदान केन्द्रमा समानुपातिक निर्वाचन प्रणाली तर्फ मात्रै मतदान गर्न पाइने भएको छ । कारागारमा खडा गरिने अस्थायी मतदान केन्द्रमा त्यहाँ रहेका बन्दीहरुले मात्रै मतदान गर्न पाउने छन् भने जिल्ला प्रहरी कार्यालयमा खडा गरिएको अस्थायी मतदान केन्द्रमा जिल्लाभर रहेका सरकारी कर्मचारीहरु मतदान गर्न पाइने व्यबस्था मिलाइएको छ ।
वृद्धाश्रममा रहेका ज्येष्ठ नागरिकहरुको लागी समेत मतदानको लागी अधिकार दिन सर्वोच्व अदालते आदेश दिएसगैँ देवीघाटको ज्येष्ठ नागरिक प्रतिष्ठानमा रहेका मतदाता नामावली नाम कायम भएका ६ जना ज्येष्ठ नागरिकहरुको लागी भने चन्द्रज्योती मावि तल्लो पिपलटारमा नै मतदान गर्न पाउने व्यवस्था मिलाइएको छ ।
यसैबीच, निर्वाचन गराउन खटिने सरकारी कर्मचारी र सुरक्षाकर्मीलाई भने खटिएको मतदान केन्द्रबाट समानुपातिकतर्फ मतदान गर्न पाउने भएका छन् । अहिले हुन लागेको निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवारलाई र समानुपातिक तर्फ राजनीतिक दललाई मतदान गर्ने व्यवस्था भएकाले अस्थायी मतदान केन्द्र र चुनाव गराउन खटिने कर्मचारीहरुले समानुपातिक निर्वाचन प्रणालीतर्फ मतदान गर्न पाउने सुविधा मिलाइएको हो ।
27.37¡ÆC