दुर्गम गाउँ ठाउँसम्मै मतदाता शिक्षा कार्यक्रम पुर्याउने तयारी

कार्तिक २१, २०७९ मा प्रकाशित | 245 views

काठमाडौँ । मतदाता शिक्षा कार्यक्रमलाई दुर्गम गाउँ ठाउँसम्म पुर्याउने काम भइरहेको निर्वाचन आयोगले जनाएको छ । मतदाता शिक्षा कार्यक्रम सुगम र सहर केन्द्रित मात्रै भएको भन्ने गुनासो भइरहेकाे बेला आयोगले सबै ठाउँमा मतदाता शिक्षा कार्यक्रम पुर्याउने काम भइरहेकाे जनाएको हो ।

आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले रेडियो, टेलिभिजन र अनलाइनको माध्यमबाट मतदाता शिक्षा सम्बन्धी प्रचारप्रसारको काम भइरहेको बताउनुभयो । आयोग आफैँले पनि सामाजिक सञ्जालमार्फत् मतदाता शिक्षा सम्बन्धी चेतनामूलक सामग्री सम्प्रेषण गरिरहेको छ ।

यस्तै, ७७ वटै जिल्ला निर्वाचन कार्यालय र प्रदेश निर्वाचन कार्यालयमार्फत् पनि मतदाता शिक्षा कार्यक्रम भइरहेको आयोगले जनाएको छ । आयोगले हरेक पालिकामा कम्तीमा एउटा नमुना मतदान कार्यक्रम प्रभावकारी ढङ्गबाट सम्पन्न गर्नका लागि बजेटसमेत पठाइसकेको जनाएको छ ।

पालिकाहरुमा नमुना मतदान कार्यक्रम पनि भइरहेका छन् । सबै पालिकामा नमुना मतपत्र छापेर पठाइसकेको आयोगले जनाएको छ । हरेक जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा मतदाता शिक्षा समितिसमेत गठन गरिएको छ । आयोगले गएको शुक्रवारदेखि सबै वडाहरुमा मतदाता शिक्षा कार्यक्रम सुरु गरिसकेको छ ।

महिला स्वास्थ्य स्वयंसेविका र पालिकाका प्रतिनिधिले मतदाता शिक्षा दिने काम गरिरहेका छन् । मतदाता शिक्षामा खटिएका प्रतिनिधि या नजिकको निर्वाचन कार्यालयमा सम्पर्क गरेर पनि मतदान गर्ने सही तरिका थाहा पाउन सकिने आयोगले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web