त्रिशूली । अघिल्लो महिनाको तुलनामा यो कात्तिक महिनामा नेपालमा डेङ्गु सङ्क्रमणको दर ५० प्रतिशतले घटेको पाइएको छ । असोजको दोस्रो सातासम्म २७ हजार जनालाई डेङ्गी सङ्क्रमण पुष्टि भएकोमा कात्तिक महिनामा भने दोस्रो सातासम्ममा १३ हजारमा मात्रै सङ्क्रमण देखिएको स्वास्थ्य सेवा विभागले जनाएको छ ।
चिसो मौसमको सुरू भएसँगै नेपालमा डेङ्गी सङ्क्रमितको सङ्ख्या कम भएको छ । तर, सङ्क्रमणको जोखिम भने कायमै रहेकाले सावधानी अपनाउन सङ्क्रामक रोग विशेषज्ञहरुले सुझाब दिएका छन् ।
यसैबीच, डेंगुको सक्रमित बिरामीले जथाभावी जडिबुटि सेवन गर्दा फाईदा भन्दा नोक्सानी गर्ने सम्भावना भएकाले त्यसो नगर्न सङ्क्रामक रोग विषेशज्ञ डा.शेरबहादुर पुनले अनुरोध गर्नुभयो ।
नेपालमा गत साउनदेखि अहिलेसम्म कुल ४६ हजार ७३८ जनामा डेङ्गी सङ्क्रमण पुष्टी भइसकेको छ भने सङ्क्रमणका कारण ५४जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।