मेयर बालेन्द्र शाहलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

कार्तिक १९, २०७९ मा प्रकाशित | 215 views

काठमाडौँ । निर्वाचन आयोगले काठमाण्डौ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहलाई स्पष्टीकरण सोधेको छ । हाम्रो नेपाली पार्टीका विभिन्न निर्वाचन क्षेत्रका उम्मेदवारहरूले ‘जय लौरो’ नामक फेसबुक पेज समेतबाट प्रमुख शाहको समर्थन रहेको भनी गरेको प्रचारप्रसारबारे स्पष्टीकरण सोधेको छ ।

देशको राजधानी शहर समेत रहेको महानगरपालिकाको नगर प्रमुखमा स्वतन्त्र उम्मेदवारको रुपमा निर्वाचित भई कार्यभार सम्हालेको अवस्थामा हाम्रो नेपाली दलसँग कुनै आबद्धता नै भएको जस्तो गरी शाहको तस्बिर र नाम निरन्तर प्रयोग भइरहेको विषयमा आयोगले ध्यानाकर्षणसहित पत्र पठाएको हो ।

‘निर्वाचन आयोग नेपालले कुनै पनि तवरबाट निर्वाचनको स्वच्छता र निष्पक्षता कायम रहोस् भनी सदैव चासो राख्दछ । संविधान र प्रचलित निर्वाचनसँग सम्बन्धित कानूनको आधारमा निर्वाचन सम्पन्न गर्ने क्रममा ऐन कानूनको परिकल्पना भन्दा बाहिरका उपायहरू प्रविधिमार्फत अवलम्बन गरी निर्वाचन कानून बाहेकका कानूनको उल्लंघन हुनसक्ने विषयमा समेत आयोग सचेत छ’, आयोगको स्पष्टीकरणमा भनिएको छ, ‘उल्लेखित सन्दर्भमा हाम्रो नेपाली पार्टीसँग यहाँको कुनै कानूनी सम्बन्ध रहेको भन्ने आयोगमा रहेको उक्त दलको अभिलेखबाट नदेखिएको अवस्थामा सोही तथ्यमा विश्वस्त हुँदै पत्र प्राप्त भएको दुई दिनभित्र जवाफ उपलब्ध गराइदिन अनुरोध छ ।’

आयोगले शाहलाई इन्जिनियर अनन्तराज घिमिरे अध्यक्ष रहेको हाम्रो नेपाली पार्टीसँग तपाईंको कुनै आबद्धता छ, छैन ?, हाम्रो नेपाली पार्टीसँग कुनै दलगत आबद्धता छैन भने त्यस दलले तस्बिर र नाम प्रयोग गरी आफ्नो दल र उम्मेदवारहरूको मत निरन्तर मागिरहेको देखिएकोले त्याे कार्य गर्न कुनै व्यक्त वा अव्यक्त सहमति छ, छैन ? भनेर स्पष्टीकरण सोधेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web