दशै अघिनै भत्ता वितरण गर्न निर्देशन सहित विदुर–१३ मा लुम्बिनी बैंक पठाइयो

अशोज १०, २०७९ मा प्रकाशित
Published at 2022-09-26

390 views

त्रिशूली । नुवाकोटको विदुर नगरपालिकाको वडा नं. १३ मा वितरण गर्नुपर्ने सामाजिक सुरक्षा भत्ता आईसिएफसी फाइनान्सले 'सहज रुपमा दिन नसकेपछि' लुम्बिनी विकास बैंक मार्फत वितरण गर्न थालिएको छ ।

नगरपालिकाले दशै पर्वको समयमा लाभग्राहीलाई रहत पुगोस भनेर उपलब्ध गराएको सामाजिक सुरक्षा भत्ता बापतको रकम त्रिशूलीमा रहेको आईसिएफसी फाइनान्सले 'दिन नसक्ने भनेर' जानकारी गराएपछि वडा नं .१३ को कार्यालयको सिफारिस अनुसार अब त्यहाँ बट्टारमा शाखा कार्यालय रहेको लुम्बिनी विकास बैंकलाई पठाइएको हो । आईसिएफसी फाइनान्सले सहज रुपमा रकम दिन नसक्ने जनाएपछि विकल्पमा कोलनीदेखि विदुरसम्म रहेका बैंकले नभ्याउने भनेपछि बट्टारमा रहेको लुम्बिनी विकास बैंकलाई जिम्मेवारी दिइएको विदुर नगरपालिका र वडा नं. १३ को कार्यालयले जनाएको छ ।  

लुम्बिनी विकास बैंकलाई नयाँ साझेदारीको रुपमा छनोटको क्रममा रकम वितरणको लागी वडा कार्यालयसम्म पुगेर रकम उपलब्ध गराउने, हिड्न नसक्ने ज्येष्ठ नागरिक तथा अति अशसक्त अपाङ्गता भएकाहरुको हकमा आवश्यकताको आधारम घरसम्म नै पुगेर रकम दिइने भनिएको छ । यस विषयमा बाहिर आएका गलत सन्देशहरु भ्रम रहेको भन्दै विदुर नगरपालिकाले स्पष्ट समेत बनाइएको छ । लाभग्राहीलाई रकम दिने वित्तिय सँस्था परिवर्तनको सम्बन्धमा विभिन्न लाञ्छना लगाएर बाहिर आएका सन्देशहरु व्यक्तिगत स्वार्थ, राजनीतिक पूर्वाग्रही भएकाले त्यस्तो गलत सन्देशको पछि नलाग्न विदुर नगरपालिकाले अनुरोध गरेको हो ।


विदुर नगरपालिकाको तर्फबाट जारी गरिएको प्रष्टिकरण निम्न अनुसार रहेको छ ।


सामाजिक सुरक्षा भत्ता वितरण सम्बन्धि स्पष्ट पारिएको सम्बन्धमा
आदरणीय विदुरनगरवासी, विदुर नगरपालिका वडा नंं १३ को सामाजिक सुरक्षा भत्ता वितरणको सम्बन्धमा आएका भ्रमपूर्ण सन्देशहरुको बारेमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । यसअघि विदुर नगरपालिका वडा नं. १ त्रिशूली बजारमा रहेको आईसिएफसी फाइनान्सबाट सेवा प्रवाह हुदै आएकोमा उक्त फाइनान्सको सेवा प्रवाह प्रभावकारी नभएको र लाभग्राहीले समस्या भोग्न बाध्य भएको गुनासो बारम्बार प्राप्त भएकाले त्यसउपर विदुर नगरपालिका वडा नं. १३ को वडा कार्यायलबाट लिखित निवेदन आएपछि त्यस सम्बन्धमा छलफल गर्दा पहिला विदुर नगरपालिका वडा नं.४ मा रहेको शाखा कार्यालय रहेको प्रभु बैंकसंग सहमति गर्ने गरेर वडा कार्यालय मार्फत निवेदन प्राप्त भएकोमा तर, उक्त बैंकले सेवा प्रवाह गर्न नसक्ने जनाएपछि विदुर नगरपालिका वडा नं.२ मा शाखा कार्यालय रहेको लुम्बिनी विकास बैंकसंग सेवा प्रवाह साझेदारी गर्ने गरेर वडा नं. १३ को वडा कार्यालयको पत्रको आधारमा विदुर नगरपालिकाले सहमति जनाएको हो । राज्यले उपलब्ध गराउदै आएको सामाजिक सुरक्षाभत्ता ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति लगायत शारिरिक रुपमा कमजोर रहेका वर्गलाई प्रदान गर्नुपर्ने तर, फाइनान्सको कार्यालय त्रिशूलीसम्म आएका सेवाग्राहीलाई समेत सहज रुपमा सेवा दिन नसकेको गुनासो पश्चात लाभग्राहीले सहज रुपमा सेवा पाउने अधिकारको सम्मानको लागी उत्पन्न समस्याको समाधान स्वरुप आवश्यकताको आधारमा लाभग्राहीको घर तथा १३ नं. वडा कार्यालयमा बसेर समेत सेवा उपलब्ध गराउने सहमतिमा लुम्बिनी विकास बैंक छनोटमा परेको हो । लाभग्राहीलाई दुरीको रुपमा पायक पर्ने भन्दा पनि सेवाको रुपमा गुणस्तरीय, घरदैलोमा नै सेवा प्रवाह गर्ने साझेदारी सँस्थाको रुपमा १३ नं. वडा कार्यालयले विकल्प खोज्न बाध्य भएको हो । सेवा प्रवाह गर्दा सम्बन्धित बैंक र नगरपालिकासंग सम्बन्धित कुनैपनि व्यक्तिलाई कुनैपनि प्रकारको लाभ भन्दापनि लाभग्राहीले पाउदै आएको सास्ती हटाउन छनोटमा परेको बैंक र नगरपालिकाको जनशक्ति व्यवस्थापनमा अधिक मिहेनत र समय खर्च हुन जाने देखिन्छ । यस विषयमा नगरपालिकाको कुनैपनि पदाधिकारीलाई व्यक्तिगत लाभका कुरा गरिने तथा गलत भ्रम फैलाउने गरेर बाहिर आएका गलत सन्देशहरु आफैमा खेद जनक रहेको छ । विगतको नेतृत्वबाट सिर्जित करोडौ रुपैयाँको आर्थिक दुराअवस्थालाई सहजिकरण गर्दै समृद्धि विदुरको परिकल्पनाको साथ अघि बढिरहेको विदुर नगरपालिकाको नयाँ नेतृत्व सुशासनयुक्त, पारदर्शी र भ्रष्टाचारमुक्त नगरपालिका बनाउन प्रतिबद्ध छ । हामीबाट कुनै कमीकमजोरी हुन नदिन आमनगरबासी सरोकारवालाहरुको सुझाबलाई सदैव मनन् गर्नेछौ । तर, व्यक्तिगत स्वार्थ र लाभ नपाएको तथा राजनीतिक पूर्वाग्रहीको आधारमा आम नगरबासीलाई भ्रम फैलाउन आएका गलत सन्देशहरु प्रति सचेत रहन समेत नगरपालिका सबैमा आह्वान गर्दछौ । आमनगरबासी तथा सरोकारवालाहरुले हाम्रो सेवा प्रवाह र विकास निर्माण सम्बन्धि विषयहरुमा कुनै गुनासो भएमा नगरप्रमुख राजन श्रेष्ठको सम्पर्क नं. ९८५१०६४०८७ मा राख्न सक्नुहुनेछ ।
हामी यहाँहरुको सेवामा सदैव हाजिर छौ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright © 2021 News. All Rights Reserved. Website by Muncha Developers.