नुवाकोटको बजार क्षेत्रमा तोकिएको स्थानमा मात्रै गाडी रोक्न पाइने

अशोज ८, २०७९ मा प्रकाशित
Published at 2022-09-24

156 views

त्रिशुली । नुवाकोटको मुख्य बजार क्षेत्रमा देखिएको अव्यवस्थित यातायात क्षेत्रलाई नियन्त्रण गर्न यही असोज ११ गतेदेखि थप व्यवस्थित र तोकिएको स्थानमा मात्रै गाडी रोक्न पाइने निर्णय गरिएको छ ।
यस्तै, निर्माण भएर पनि व्यवस्थित रुपमा सञ्चालन गर्न नसकेको बसपार्कलाई यही असोज २६ गतेदेखि पूर्ण रुपमा सञ्चालन गरिने भएको छ ।

यसअघि विभिन्न पटक बसेको बैठकको निरन्तरता स्वरुप शुक्रबार बसेको सरोकारवालाहरुको बैठकले विदुर नगरपालिकाको मुख्य बजार क्षेत्रमा यातायातलाई व्यवस्थित गर्ने देखि बसपार्कलाई पूर्ण रुपमा सञ्चालनमा ल्याउने निर्णय गरिएको हो ।

विदुर नगरपालिकामा बसेको बैठकमा सहभागी विदुर नगरपालिकाको जनप्रतिनिधिहरु, प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, यातायात व्यावसायी लगायतको बैठकले असोज ११ गतेदेखि कोलनीदेखि बट्टार बजारसम्म सडकको पहुँच पूरै खाली गरेर सडक छेउमा गाडी रोक्न नपाइने निर्णय भएको छ ।

सरोकारवाला पक्षहरुले सर्वसम्मत रुपमा असोज २६ गतेदेखि बसपार्क पूर्ण रुपमा सञ्चालनमा ल्याएर अहिले विभिन्न स्थानमा राखिएका टिकट काउन्टरलाई पनि बसपार्क भित्रै लैजानको लागी सहमति गरिएको छ । बसपार्क सञ्चालन देखि बजार व्यवस्थापनका सबै पक्ष सरोकारवलाहरु सबै एकजुट भएर अघि बढ्न लागिएको विदुर नगरपालिकाको नगरप्रमुख राजन श्रेष्ठले जानकारी दिनुभएको छ ।

विदुर नगरपालिकाको प्रस्ताव अनुसार सरोकरावालाहरुको बैठकले असोज २६ गतेदेखि बसपार्क सञ्चालनको लागी यातायात व्यवसायीले सार्वजनिक यातायातका साधनहरु बसपार्क भित्र लैजानु पर्ने र त्याहाँ १५ मिनेट रोक्नुपर्ने, टिकट काउन्टरहरु सबै बसपार्क भित्रबाट मात्रै काट्ने, बसपार्क भन्दा बाहिरका स्थानमा यात्रुलाई चढाउने र ओराल्ने मात्रै गर्नुपर्ने अर्थात यात्रुलाई कुरेर बस्न नपाइने सहित बसपार्क सञ्चालनको लागी चाहिने भौतिक पूर्वाधारहरु पानी, शौचालय, बत्ति, टेलिफोन, इन्टरनेट लगायतकाको व्यवस्था नगरपालिकाले प्रबन्ध मिलाउने निर्णय गरिएको छ ।

यसैगरी, यही असोज ११ गतेदेखि कोलनी, त्रिशूली बजार, ढुङ्गे, विदुर, बट्टार बजारमा सडक छेउमा दुईपाङ्ग्रे चारपाङ्ग्रे सबै किसिमका सवारी साधन रोक्ने नपाइने, सडक र सडक पेटी मिचेर राखिएका निर्माण सामाग्रिहरु, बजार पसलका सामानहरु, ठेलागाढाहरु सबै हटाउनुपर्ने निर्णय भएको छ ।

अर्को निर्णय नभएसम्मको लागी बट्टार बजारको लागी दैनिक आलोपालो गरेर एकतर्फी रुपमा पार्किङ गरिने भएको छ भने त्रिशूली बजारमा अहिले सडकमा नै गरिदै आएको पार्किङ असोज ११ गतेदेखि सबै विद्युत प्राधिकरणको गेट अगाडी रहेको पूरानो बसपार्कमा रोक्नुपर्ने भनिएको छ ।

यस्तै, ढुङ्गेमा रोक्ने गरिएको यातायातका साधनहरु सबै कृषि विकास बैंक अगाडीको खाली जग्गामा पार्किङ गराएर ढुङ्गे क्षेत्रमा गाडी रोक्न नपाइने नियम बनाइएको छ । सरोकारावालाहरुले गरेको निर्णयलाई यातायात व्यावासायीहरुले स्वागतयोग्य रहेकाले आफूहरु निर्णयको पूर्ण पालना गराउन तयार रहेको बताएका छन् ।
यसैगरी, सर्ब पक्षीय बैठकले सर्वसम्मत रुपमा गरेको निर्णय कार्यान्वयन गराएर विदुरको नगर तथा बजारक्षेत्र व्यवस्थित सहित शान्ति सुरक्षा कायम गराउन सहज हुने नुवाकोटमा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले बताउनुभएको छ ।

विदुर नगरपालिका वडा नं. ४ मा रहेको बट्टार बसपार्कलाई व्यवस्थित रुपमा सञ्चालनको लागी मुख्य माग उठाउनु भएका वडा नं. ४ का वडाध्यक्ष निमलबाबु ढुङ्गेलले सरोकारवालाहरुले गरेको निर्णयको कार्यान्वयन गराउन आफू प्रतिबद्ध भएर खटिने बताउनुभएको छ ।

यस्तै, नगरपालिकाको उपप्रमुख प्रभा बोगटी, वडा नं. १ को वडाध्यक्ष लेनिन रञ्जित, वडा नं. २ को वडाध्यक्ष दिपक कायस्थ लगायतका जनप्रतिनिधिहरुले बसपार्क सञ्चालन र बजार व्यवस्थित बनाउनको लागी आवश्यक सहयोग पूर्ण रुपमा पुराउने प्रतिबद्धता जनाउनुभएको छ ।

सरोकारवालाहरुको प्रतिबद्धता अनुसार अब बसपार्क सञ्चालन गरेर नगरलाई व्यवस्थित र सुरक्षित बनाएर आर्थिक गतविधि चलायमान बनाउन समेत सक्ने भएकाले यसबाट तत्कालको लागी केही समस्या भएपनि आगामी दिनमा यसबाट सबैपक्षले लाभ लिन सक्ने विदुर नगरपालिकाको नगरप्रमुख राजन श्रेष्ठले विश्वास व्यक्त गर्नुभएको छ ।

करोडौँ रुपैयाँ लगानी गरेर निर्माण गरेको बनाएको बसपार्कको लगानी बापतको ऋण विदुर नगरपालिकाले हरेक वर्ष २४ लाख रुपैयाँ व्याज तिर्दै आइरहेका छ । बसपार्क सञ्चालन नभएको कारण अहिले बसपार्क सञ्चालनको लागी साझेदारी सँस्थाको रुपमा बिराट निर्माण सेवाले वार्षिक १२ लाख ७१ हजार रुपैयाँमा नगरपालिकालाई बुझाउने गरेर आगामी असार मसान्तसम्म सञ्चालनको जिम्मेवारी तीन वर्ष अघि लिएको थियो ।

एशियाली विकास बैंकको ऋण सहयोगमा तयार भएको बसपार्कको संरक्षण, सञ्चालन र ऋणको जिम्मेवारी पनि बिदुर नगरपालिका कार्यालयको नै रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright © 2021 News. All Rights Reserved. Website by Muncha Developers.