नुवाकोट र रसुवामा पूर्वाधार विकास कार्यालयले ४५६ योजना कार्यान्वयन गर्ने

अशोज ७, २०७९ मा प्रकाशित
Published at 2022-09-23

39 views

त्रिशुली । नुवाकोट र रसुवा कार्यक्षेत्र रहेको पूर्वाधार विकास कार्यालय नुवाकोटले दुई जिल्लामा ४५६ योजना कार्यान्वयन गर्ने भएको छ । त्यसको लागी चालु आर्थिक वर्षमा करीब दुई अर्ब बजेट प्राप्त भएको कार्यालय प्रमुख बिरेन्द्रकुमार ब्रजाचार्यले जानकारी दिनुभएको छ ।

उहाको अनुसार सडक र पुल निर्माणको लागी कार्यान्वयनमा रहेका तेह्रवटा बहुवर्षीय सहित थप आएका समेत ४५६ योजनालाई एक अर्ब ९५ करोड रुपैयाँ बजेट प्राप्त भएको हो । बहुवर्षीय अन्तरगत नौ वटा सडक र चारवटा पक्कि पुललाई निरन्तरता दिन थप बजेट आएको छ भने बँकी अधिकांश योजना एक आर्थिक वर्षको लागी प्राप्त भएकाले अब काम सुरु गरेर समयमै सम्पन्न गर्न प्रक्रिया अघि बढाउन लाएिको छ ।

प्राप्त भएको बजेट, योजना तथा कार्यक्रम अनुसार बहुवर्षीय अन्तरगत नौ वटा योजनामा ५७ करोड रुपैयाँ, शहरी तथा स्थानीय सडकको ३४८ योजनामा ८८ करोड १० लाख रुपैयाँ, सडक मर्मतसम्भार र सुरक्षा तथा अन्य पूर्वाधारका २२ योजनामा तीन करोड ८० लाख रुपैयाँ, सडक पूर्वाधार विकास कार्यक्रम अन्तरगत १५ वटा योजनामा चार करोड १४ लाख रुपैयाँ प्राप्त भएको छ ।

यस्तै, सम्भावित प्रादेशिक सडक चारवटा योजनाको लागी ६ करोड, प्रादेशिक सडक एवम् झोलुङ्गे पुलको ४० वटा योजनालाई १८ करोड ११ लाख, सम्भावित रणनीतिक सडक तीनवटा योजनाको लागी चार करोड ५० लाख रुपैयाँ र बैकल्पिक सहायक राजमार्ग विकास कार्यक्रमको १७ वटा योजनाको लागी रु ११ करोड बजेट प्राप्त भएको छ ।

संघ सरकारबाट आएको सशर्त योजना र प्रदेश सरकारबाट नियमित कार्यक्रम अन्तरगत प्राप्त भएका योजनाको जिल्लास्थित पूर्वाधार विकास कार्यालयले ५० लाख रुपैयाँभन्दा ठूला योजनालाई निर्माण व्यवसायी मार्फत र सो भन्दाकमका योजना उपभोक्ता समिति मार्फत कार्यान्वयन गरिने कार्यालय प्रमुख बिरेन्द्र ब्रजाचार्यले जानकारी दिनुभएको छ । उहाँको अनुसार उपभोक्ता समिति मार्फत गर्ने कामलाई सम्बन्धित पालिकाको सिफारिसको आधारमा सम्झौता गरेर काम सुरु गर्न योजनाहरु सम्बन्धित पालिकामा पठाइएको छ ।

चालु आर्थिक वर्षमा प्राप्त भएका योजनाहरु अधिकांश १० लाखदेखि ३० लाख रुपैयाँसम्मका रहेका छन् । ती योजना कार्यान्वयन गर्न कार्यालयलाई जनशक्तिको अभाव देखिएको छ । कार्यालयमा हाल प्रमुख सहित पाचजना इञ्जिनियर र छ जना सव–इञ्जिनियर गरेर कुल ११ जना प्राविधिक कर्मचारी कार्यरत रहेका छन् ।

प्रादेशिक कार्यालय भएकाले दुई पालिका तथा अन्तरजिल्ला जोड्ने ठूला स्वरुपका योजना कार्यान्वयन गर्नुपर्ने हो । तर, जनताको माग र जनप्रतिनिधिको सिफारिसमा टुक्रे योजनाले प्रश्रय पाएकाले पनि कार्यान्वयनमा चुनौती देखिएको हो ।

योजना सम्पन्न गर्न लागत मूल्याङ्कन, कार्यक्षेत्रको पहिचान, काम भइरहदाँको अनुगमन र भुक्तानीको लागी कार्यसम्पन्न पश्चात समेत गरेर एउटा योजनाको (कार्यक्षेत्र)मा कम्तिमा चारपटक प्राविधिक पुग्नुपर्ने भएपनि त्यसको लागी जनशक्तिको निकै कम भएकाले त्यो प्रक्रिया पूरागर्न कठिनाई भइरहेको छ ।

यसअघि साविक जिल्ला विकास समिति अन्तरगत रहने जिल्ला पूर्वाधार कार्यालयले गर्दै आएको कामको जिम्मेवारी हाल पूर्वाधार विकास कार्यालय मार्फत हुने गदै आएको छ ।

यस्तै, डिभिजन सडक मार्फत जिम्मेवारी सरेका सडकका स–साना योजना पनि हाल यही कार्यालयको जिम्मेवारीमा आएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

TopNepalNews copyright © 2021 News. All Rights Reserved. Website by Muncha Developers.