नुवाकोटका उम्मेदवारबाट ३० करोड जरिवाना असुलिने

अशोज ७, २०७९ मा प्रकाशित
Published at 2022-09-23

34 views

त्रिशूली । तोकिएको समयसीमा भित्र निर्वाचन खर्च विवरण नबुझाउने नुवाकोटका उम्मेदवारहरुबाट करीब ३० करोड जरिवाना असुल हुने भएको छ ।

निर्वाचन आयोगले हालै सार्वजनिक गरेको समयमा निर्वाचन खर्च विवरण नबुझाउने जिल्लाका एक हजार ६९४ जना उम्मेदवारबाट २९ करोड ९७ लाख ५० हजार रुपैयाँ जरिवाना असुल गर्नुपर्ने जिल्ला निर्वाचन अधिकारी जयप्रसाद गौतमले जानकारी दिनुभएको छ ।

उहाँको अनुसार विदुर नगरपालिकामा प्रमुख पदका छ जना र उपप्रमुख पदका पाचजना रहेका छन् । बेलकोटगढीमा प्रमुख र उपप्रमुख पदका पाच–पाच जना गरेर दश जना उम्मेवारलाई जरिवाना तोकिएको छ । नगरपालिकाको प्रमुख र उपप्रमुखले जनही चार लाख ५० हजार रुपैयाँ तिर्नुपर्ने भएकाले निर्वाचन खर्च विवरण नबुझाएका २१ जनाबाट कुल ९४ लाख ५० हजार रुपैयाँ जरिवाना असुल गर्नुपर्ने देखिएको हो ।

नगरपालिकाको वडाध्यक्ष र वडा सदस्य पदका उम्मेदवार भएर समयमा निर्वाचन खर्च विवरण नबुझाउने उम्मेदवारको सङ्ख्या ४२७ जना छन् । उनीहरुलाई निर्वाचन आयोगले जनही दुई लाख रुपैया जरिवाना तिनुपर्ने निर्णय गरेको छ ।

निर्वाचन आयोगको निर्णय अनुसार नगरपालिकाको वडाध्यक्ष र सदस्य पदका उम्मेदवारहरुबाट आठ करोड ५४ लाख रुपैया असुल गर्नुपर्ने देखिएको छ ।
यस्तै, गाँउपालिकातर्फ जिल्लामा रहेको दश गाँउपालिकामा अध्यक्ष र उपाध्यक्ष पदका ९० जना उम्मेदवारले निर्वाचन खर्च विवरण समयमा नुबझाएकाले जरिवानामा परेका छन् । उनीहरुबाट जनही तीन लाख ५० हजार रुपैयाका दरले तीन करोड १५ लाख रुपैया असुल गर्नुपर्ने जिल्ला निर्वाचन अधिकारी जयप्रसाद गौतमले जानकारी दिनुभएको छ ।

यस्तै, गाँउपालिकाको वडाध्यक्ष र वडासदस्य पदका उम्मेदवार भएर समयभित्र खर्च विवरण नबुझाएका उम्मेदवारको सङ्ख्या जिल्लाभरमा एकहजार १५६ जना रहेका छन् । उनीहरुलाई निर्वाचन आयोगले जनही एक लाख ५० हजार रुपैया जरिवाना लाग्ने निर्णय गरेको थियो । आयोगको निर्णय अनुसार गाँउपालिकाको वडाध्यक्ष र वडासदस्य पदका उम्मेदवारहरुबाट १७ करोड ३४ लाख रुपैया जरिवाना असुल गर्नुपर्ने देखिएको हो ।

गएको बैशाख ३० मा सम्पन्न भएको निर्वाचनको खर्च विवरण निर्वाचनको मत परिणाम सार्वजनिक भएको ३० दिनभित्र बुझाउनुपर्ने भनिएको थियो । त्यस समयमा खर्च विवरण नबुझाउने सूचीमा निर्वाचित जनप्रतिनिधिहरु समेत उल्लेख्य सङ्ख्यामा रहेका छन् ।

जरिवानाको निर्णय गरेको छ महिना भित्र भुक्तानी गरिसक्नुपर्ने जनाएको छ । निर्वाचित पदाधिकारीले उक्त अवधिमा भुक्तानी नगरे स्वतः पद जाने निर्णय भएकाले खर्च विवरण बुझाउन चासो नदिएपनि जरिवाना शुल्क भने समयमै दाखिला हुने विश्वास लिएको जिल्ला निर्वाचन अधिकारी गौतमले बताउनुभएको छ । उहाँको अनुसार निर्वाचन आयोगले गएको बैशाख ३० मा सम्पन्न स्थानीयतहको निर्वाचनको उम्मेदवारहरुको नामावली अहिले सार्वजनिक गरेको हो ।

कार्यपालिका र जिल्ला समन्वय समितिका अधिकांश उम्मेदवारले पनि खर्च विवरण बुझाउन बाँकी रहेकाले उनीहरुको हकमा के हुने भन्ने आयोगबाट निर्णय गर्न बाँकी रहेको छ ।

नुवाकोटमा स्थानीयतह निर्वाचन अन्तरगत पालिकातह, पालिकाको कार्यपालिका सदस्य र जिल्ला समन्वय समिति समेत गरेर तीन चरणको निर्वाचनमा दुई हजार १७३ जनाले उम्मेदवारी दिएका थिए । त्यो मध्ये तोकिएको समय भित्र खर्च विवरण बुझाउनेको सङ्ख्या ३१२ जना मात्र रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

TopNepalNews copyright © 2021 News. All Rights Reserved. Website by Muncha Developers.