बनुवामा भासिएको सडक सञ्चालन

अशोज ७, २०७९ मा प्रकाशित
Published at 2022-09-23

84 views

रसुवा । पहिरोको कारण गएको साउन २५ गतेदेखि अवरुद्ध बनेको पासाङल्हामु राजमार्गको रसुवा स्थित वेत्रावतीबाट कालिकास्थान पुग्ने बनुवामा भासिएको सडक सञ्चालनमा आएको छ ।

रसुवाको उत्तरगया गाउँपालिका वडा नं. ५ स्थित बनुवा घुम्ती नजिकै करिब ७० मिटर सडक क्षतिहुँदा सडक अवरुद्ध भएको सडक ४४ दिनपछि  बिहीबारदेखि सञ्चालनमा आएको हो । त्यस स्थानमा पुनः तारजालीको पर्खाल लगाएर सडक सञ्चालनमा ल्याउन सफल भएको सडक डिभिजन नुवाकोटका डिभिजन प्रमुख अमृतमणी रिमालले जानकारी दिनुभएको छ ।

उहाँको अनुसार पासाङल्हामु मार्ग खुल्ला भएसँगै चीनबाट आयात भएका सामग्री रसुवाको टिमुरेदेखि काठमाडौँ लैजान, जिल्लामा सञ्चालित विकास निर्माणका सामग्री भित्र्याउन, खाद्य सामग्री ढुवानी गराउन, काठमाडौँ– रसुवा सिधा बससेवा सञ्चालन गराउन सहज भएको छ ।

सुरूमा त्रिशूली– सोम्दाङ सडकको नामाकरणबाट निर्माण भएको यस सडक अन्तर्गत बनुवा घुम्तीको क्षतिग्रस्त सडक २०४० सालमा निर्माण गरिएको थियो ।
त्यस स्थानमा नालीको भलपानीलाई उचित रुपमा निकास दिन नसक्दा साउन २४ गते रातिको भीषण वर्षाले सडक क्षति भएको थियो । यसबाट धानखेतसमेत नोक्सान भएको स्थानीय बासिन्दाले बताएका छन् ।

बनुवा घुम्तीको पहिरोस्थलमा ग्याबिन पर्खाल लगाई सतहको पुरै भागमा अनेत्रबाट ल्याइएको ढुङ्गा माटोले पुरेर सडकको जग तयार गरेर लगातार ढेड महिना गरिएको कामबाट सडक सञ्चालनमा ल्याउन सकिएको हो ।

नुवाकोटको त्रिशूली, बेत्रावति, धुञ्चे, स्याफ्रु रसुवागढी क्षेत्रमा अब आउजाउ गर्न सहज भएको छ । पहिरोले जगैदेखि बगाएको सडक निरन्तर ४४ दिनको प्रयासले ग्याबिन पर्खाल लगाएर सुचारु गराइएको हो । निर्माणमा संलग्न ठेकेदार कम्पनी सुन्धरादेवी निर्माण सेवाका प्रबन्ध निर्देशक रवीन्द्र बुढाथोकीको अनुसार पर्खाल उठाइएको सडकमा ग्राभेल हिलो भएकाले व्यवस्थापन गर्न केही समय लाग्ने देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

TopNepalNews copyright © 2021 News. All Rights Reserved. Website by Muncha Developers.