कोल्पुटार । बेलकोटगढी नगरपालिका वडा न. ५ को कार्यालयले आयोजना गरेको एकदिने आँखा जाँच शिविरमा २ सय ४५ जना बिरामीको परीक्षण गरिएको छ ।
दृष्टी आँखा केन्द्र बट्टार र कलंकीको प्राविधिक सहयोगमा हिजो मंगलबार वडा नं. ५ कोल्पुटार स्थित महादेव माध्यमिक विद्यालयमा आयोजित निःशुल्क शिविर तथा चस्मा वितरण कार्यक्रममा २ सय ४५ जना बिरामीको आँखा परीक्षण गरिएको हो । दृष्टी आँखा केन्द्र बट्टारका नेत्र विशेषज्ञ राजेशकुमार चौरसियाको अनुसार शिविरमा २ सय ४५ जना बिरामीको आँखा जाँच गर्ने क्रममा २६ जनालाई मोतियाबिन्दु भएको पाइएको छ । मोतियाबिन्दु भएका व्यक्तिहरुको अहिले विवरण संकलन गरिने र उनीहरुलाई पायक पर्ने स्थानमा शल्यक्रियाको प्रबन्ध मिलाउने नगरपालिकाले जनाएको छ ।
यस्तै, जाँच गर्न आएका मध्ये ७५ जना बिरामीको आँखामा सामान्य समस्या देखिएकाले उनीहरुलाई निःशुल्क रुपमा चस्मा प्रदान गरिएको छ ।
यसअघि असोज २ गते कामरुदेवी मावि दुईपिपलमा आयोजना गरिएको निःशुल्क शिविरमा २ सय ५२ जना बिरामीको आँखाको परीक्षण गरिएको थियो । उक्त शिविरमा २५ जनालाई मोतियाबिन्दु लागेको पाइएको थियो भने सामान्य समस्या देखिएका ६२ जनालाई औषधि र ८७ जनालाई चस्मा उपलब्ध गराएको वडा नं .५ का वडाध्यक्ष मदन भुजेलले जानकारी दिनुभएको छ ।

यही असोज २ गते र हिजो ४ गते सञ्चालन भएको शिविरमा नगरप्रमुख जगतबहादुर गुरुङ, उपप्रमुख शिवप्रसाद दाहाल लगायत सरोकारवालाहरुको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागी हुनुभएका नगरप्रमुख र उपप्रमुखले स्वास्थ्य, शिक्षा र कृषि एव पशुपालनको लागी नगरपालिकाको पहिलो प्रथामिकतामा रहेकाले सोही अनुसारको उपलब्धि हासिल गर्नको लागी यस्ता कार्यक्रममा आफूहरु नै सहभागि हुँदै आएको बताउनुभएको छ ।

नगरपालिका आफैँ र दाता तथा सहयोगीहरुसंगको सहकार्यमा विभिन्न किसिमका शिविर सञ्चालन गर्ने, बिरामीको पहिचान गर्ने, उपचारको प्रबन्ध मिलाउनको लागि नगरपालिको सबै वडा र वस्तीमा शिविर कार्यक्रम सञ्चालन गर्ने र नगरमा रहेका स्वास्थ्य सँस्थाहरुको सेवा प्रभावकारी एंव गुणस्तरीय बनाउने नगरप्रमुख जगतबहादुर गुरुङ र उपप्रमुख शिवप्रसाद दाहालले प्रतिबद्धता जनाउनुभएको छ ।

प्रतिक्रिया