काठमाण्डौमा ट्राफिक व्यवस्थापन अस्तव्यस्त हुनसक्ने

भदौ २९, २०७९ मा प्रकाशित | 266 views

काठमाडौँ । काठमाण्डौ उपत्यकामा आज पनि ट्राफिक व्यवस्थापन अस्तव्यस्त हुने सम्भावना छ ।

नेपाल भ्रमणमा रहेका चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सुले आज राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्दै हुनुहुन्छ भने त्यसअघि उहाँ भक्तपुर दरबार स्क्वायर अवलोकनका लागि निस्कँदै हुनुहुन्छ । उहाँ बस्नु भएको काठमाण्डौको रविभवनमा रहेको सोल्टी होटलदेखि भक्तपुर दरबार स्वायरसम्म पुग्ने रुटमा बिहान ९ बजेदेखि नै गाडीको आवागमन प्रभावित हुनेछ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार रविभवन, सोल्टी होटल, कालीमाटी, त्रिपुरेश्वर, थापाथली, माइतीघर मण्डला, नयाँ बानेश्वर, तीनकुने, कोटेश्वर, जडीबुटी, लोकन्थली, राधेराधे, सल्लाघारी, सैनिक आवासीय विद्यालय, कालोपाटी व्यासीलगायत क्षेत्रमा गाडीको आवागमन प्रभावित हुनेछ । उहाँ फर्कने समयमा पनि यी रुटमा गाडीको आवागमन प्रभावित हुनेछ । भक्तपुरमा उहाँ कति समयसम्म रहनुहुन्छ भन्ने जानकारी आइसकेको छैन । यस्तै, भक्तपुरको भ्रमण सकेर उहाँले दिउँसो साढे ३ बजे राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्नुहुनेछ ।

यो समयमा रविभवन, कालीमाटी, त्रिपुरेश्वर, महाङ्काल, जमल, केशरमहल, लैनचौर, पानीपोखेरी हुँदै शीतल निवास क्षेत्रमा गाडीको आवागमन प्रभावित हुने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । यो समयमा यी रुटमा चल्ने गाडीलाई वैकल्पिक बाटो प्रयोग गर्न प्रहरीको आग्रह छ ।

हिजो र अस्ति पनि काठमाण्डौ उपत्यकामा ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको थियो । अस्ति सोमवार नेपाल भ्रमणमा आएका लीले हिजो प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छुट्टाछुट्टै भेटवार्ता गर्नु भएको थियो । उहाँ भोलि स्वदेश फर्किने तालिका छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web