विदुर । चाडपर्व निजिकिएसगै हुनुसक्ने सम्भावित दुर्घटना रोक्नको लागी जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटले जिल्लाको विभिन्न मुख्य मुख्य स्थानमा सन्देशमूलक सूचना पाटी खडा गरेको छ ।
ट्राफिक नियम सहित दुर्घटना न्युनिकरणको लागी सहयोग पुराउने सन्देश उल्लेखित गरिएको सूचना पाटी अर्थात होडिङबोर्ड आज एकैदिन विभिन्न १२ स्थानमा राखिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटका प्रमुख (बरिष्ठ प्रहरी नायव निरीक्षक गुणनिधी खकुरेलले जानकारी दिनुभएको छ ।
उहाँको अनुसार जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटको पहल र त्रिशुली बचत तथा ऋण सहकारी संस्थाको आपसी सहयोगमा आज जिल्लाको तुप्चे, हात्तिगौडा, त्रिशूली, ढुङ्गे, विदुर, बट्टार, गगटे, देवीघाट, महादेवफाँट, वेत्रावत्री, छहरे र ककनीमा ट्राफिक नियम सम्बन्धि सचेतनापूलक सूचना पाटी सडक छेउमा खडा गरिएको हो । खडा गरिएको सूचना पाटीमा सवारी साधनको छतमा नबस्न, तिव्र गतिमा गाडी नचलाउन, जथाभावी सडक नकाट्न भनिएको छ । यस्तै, गाडी चलाउदा मोबाइल फोनको प्रयोग नगर्न, यात्रुलाई पनि सडकमा पैदल यात्रा गर्दा सुरक्षित रुपमा छेउ लागेर हिड्न भनिएको छ ।

यस्तै, मादक पदार्थको सेवन गरेर गाडी नचलाउन, अत्याधिक खुसी भएको समयमा तथा निराश र दिक्क भएको समयमा सवारी साधन नचलाउन, मोडमा तथा अर्कोलाई उछिन्दा सचेत रहनको लागी अपिल गर्ने सूचना पाटी विभिन्न १२ स्थानमा खडा गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटका प्रमुख गुणनिधि खकुरेलले जानकारी दिनुभएको छ ।

चाडपर्वको समयमा यात्रुलाई सार्वजनिक यातायातका साधनले ठगी गर्नसक्ने, ट्राफिक नियमको उल्लंघन हुनसक्ने भएकाले अहिले विभिन्न स्थानमा सवारी चेकजाँचलाई कडाई गर्न थालिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
19.55¡ÆC