त्रिशूली । विदुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको नयाँ नेतृत्व चयनको लागी आज मतदान भइरहेको छ । निर्वाचन कार्यतालिका अनुसार आज बिहान ७ : ०० बजेदेखि विदुर स्थित इलम प्रशिक्षण केन्द्रमा सुरु हुने भनेपनि प्राविधिक पक्षमा देखिएको विलम्बले करीब ८ बजेदेखि सुरु भएको मतदान साँझ ५ः०० बजेसम्म चल्ने निर्वाचन अधिकृत राजनप्रसाद प्याकुरेलले जानकारी दिनुभएको छ ।
उहाँको अनुसार मतदानका लागी पाच हजार भन्दाबढी धारा जडान गरेका उपभोक्ता मध्ये नियमित मासिक शुल्क भुक्तानी गरेर अधिवेशन प्रयोजनको लागी सदस्यता नविकरण गरेका उपभोक्ता मात्र मतदाता हुने व्यवस्था छ ।
सोही अनुसार तीन हजार १४१ घरधुरी उपभोक्ता मतदाता कायम छन् । मतदाता कायम भएका मध्येपनि ‘जसको नाममा धारा रहेको छ सोही व्यक्तिले मात्र मत दिन पाउने’ र एक व्यक्तिले एकमत भन्दाबढी दिन नपाइने भएकाले एक भन्दाबढी धारा जडान गरेका उपभोक्ताले एकमत मात्र दिन पाइने निर्वाचन अन्तरगत मतदान आचारसंहिता बनाइएको छ ।
आज भएको मतदानको लागी भदौ १८ गते उम्मेदवारी दर्ता गराएका उम्मेदवारहरु चुनावी प्रतिस्पर्धामा रहेका छन् । नयाँ नेतृत्व चयनका लागी नेपाली काँग्रेस–नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)को गठबन्धनबाट साझा उम्मेदवारको रुपमा काँग्रेस समर्थित छत्रराज डंगोल अध्यक्ष रहेको प्यानल नेकपा (एमाले) समर्थित सञ्जिवबहादुर श्रेष्ठ अध्यक्ष रहेको दुई प्यानलबीच प्रतिस्पर्धा भएको हो ।
गठबन्धनको तर्फबाट डंगोलको प्यानलमा उपाध्यक्षमा नवराज न्यौपाने, सचिवमा नरेश डंगोल र कोषाध्यक्षमा रबिता भट्ट रहेका छन् । सदस्यहरुमा सुशीला पौडेल, शान्ती श्रेष्ठ, राजेन्द्र सापकोटा, रामजी भट्ट र पदमकान्त न्यौपाने उम्मेदवार छन् ।
नेकपा (एमाले) समर्थित सञ्जिब श्रेष्ठ अध्यक्ष रहेको प्यानलको उपाध्यक्षमा महेश डंगोल, सचिवमा राजेन्द्र पाण्डे र कोषाध्यक्षमा अम्बिका चित्रकार रहेका छन् ।
श्रेष्ठको प्यानलको सदस्यहरुमा बिष्णुमाया डंगोल, सिता अधिकारी, लबप्रसाद न्यौपाने, कृष्णप्रसाद भट्ट र दीपक तिमल्सिना प्रतिस्पर्धामा छन् । स्वतन्त्र रुपमा मुरारी नेपालले उपाध्यक्ष र बिमल खड्काले सदस्य पदमा उम्मेदवारी दिएकाले नौ पदको लागी २० जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।
सामाजिक सँस्था अन्तरगका विदुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको कार्यक्षेत्र विदुर नगरपालिकाको वडा नं. १, २, ४, ५, ६, ८ र ९ नं. वडाका पाच हजार भन्दाबढी घरधुरी रहेका छन् ।
विदुर नगर क्षेत्रमा सँस्थाको प्रतिस्ष्ठा उच्च छ । नगर भित्रका उपभोक्तासंग दैनिक रुपमा जोडिन सक्ने र सेवा प्रवाहको लागी आफ्नो क्षमता प्रस्तुत गर्ने अवसर पाउने भएकाले स्वंयमसेवक रुपमा सँस्थाको नेतृत्वमा पुग्न आकांक्षीहरु धेरै देखिने गरेका छन् ।
राजनीतिक दलहरुले आफू समर्थित व्यक्तिलाई नेतृत्व ल्याउन उम्मेदवारलाई दलीय प्रभावमा पार्ने गरेका छन् ।
सँस्थामा मार्फत सञ्चालनमा रहेको खानेपानी योजनामा ‘तेश्रो सहरी खानेपानी आयोजना’ मार्फत करीब रु.एक अर्ब लगानीमा स्तरउन्नतीको काम भइरहेको छ ।
19.41¡ÆC