पहिरोको कारण मुग्लिन–नारायणगढ सडकखण्ड बन्द

भदौ १६, २०७९ मा प्रकाशित | 231 views

काठमाडौँ । मुग्लिन–नारायणगढ सडकखण्ड फेरि बन्द भएको छ । चितवनको भरतपुर महानगरपालिका–२९ मा रहेको केराबारीमा मुसलधारे पानीसहित सडकमा लेदो र पहिरो खसेको मुग्लिन प्रहरीले जनाएको छ ।

बिहान साढे ५ बजेतिर पहिरो खसेको हो । पानी परिरहेकाले पहिरो हटाउन समस्या भएको पनि प्रहरीले जनाएको छ । त्यस्तै, चितवनको इच्छाकामना गाउँपालिका ६ पाँच किलोमा पनि ढुङ्गा खसेको छ । त्यहाँ पनि सडक बन्द भएको छ । ढुङ्गा पन्छाउन टोली खटिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।

यसअघि मंगलबार राति खसेको पहिरो हटाएर हिजो बिहान साढे ८ बजेदेखि मुग्लिन–नारायणगढ सडकखण्ड खुलाइएको थियो । पहिरोको उच्च जोखिम रहेकाले मुग्लिन–नारायणगढ सडकमा यात्रा गर्दा सडकको अवस्थाबारे जानकारी लिन प्रहरीले आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web