राष्ट्रपतीय निर्वाचनको नतिजा उपविजेताद्वारा अस्वीकार

भदौ २, २०७९ मा प्रकाशित | 478 views

एजेन्सी । केन्याको राष्ट्रपतीय निर्वाचनको नतिजा उपविजेताले अस्वीकार गरेका छन्। विपक्षी दलका प्रभावशाली नेता तथा राष्ट्रपतीय निर्वाचनमा उपविजेता घोषित राइला ओडिङ्गाले निर्वाचन आयोगले घोषणा गरेको नतिजा अस्वीकार गरेका हुन् ।

निर्वाचन आयोगले राष्ट्रपतिका अर्का उम्मेदवार तथा तत्कालीन उपराष्ट्रपति विलियम रुटोले जित हासिल गरेको सोमबार घोषणा गरेको थियो । नतिजा अस्वीकार गरेका ७७ वर्षीय ओडिङ्गाले अहिलेसम्म पाँचपटक राष्ट्रपतीय निर्वाचनमा उम्मेदवारी दिएका थिए । उनले निर्वाचनमा धाँधली भएको, निष्पक्ष नभएको, राज्य शक्ति र स्राेतसाधनको दुरुपयोग गरिएकोलगायतका आरोप लगाएका छन् । उनले त्यसविरुद्ध आफूले कानुनी उपचार खोज्नेसमेत बताएका छन् ।

तर, निर्वाचन आयोगका अधिकारीहरूले भने निर्वाचन निष्पक्ष भएको दाबी गर्दै यसमा पुनर्विचार गर्न नसकिने स्पष्ट पारेका छन् । रूटोलाई देशको पाँचौँ राष्ट्रपतिका रूपमा घोषणा गरिसकेकाले उनलाई जिम्मेवारी दिने गरी अन्य प्रक्रिया सुरु भइसकेको अधिकारीहरूको भनाइ छ ।

निर्वाचन आयोगका अनुसार नवनिर्वाचित राष्ट्रपति रुटोले ७१ लाख ७६ हजार १४१ अर्थात् ५०.४९ प्रतिशत मत प्राप्त गर्दा प्रभावशाली विपक्षी नेता ओडिङ्गाले ६९ लाख ४२ हजार ९३० अर्थात् ४८.८५ प्रतिशत मत प्राप्त गरेका थिए । राष्ट्रपतिमा निर्वाचित रुटो सन् २०१३ देखि देशको उपराष्ट्रपतिको जिम्मेवारीमा थिए। उनले राष्ट्रपतिमा निर्वाचित भएपछि आफूले सबैलाई समेटेर अगाडि बढ्ने र देशको विकासका लागि सबैको योगदानको आवश्यकता रहेको बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web