ताइवानको नजिकै भइरहेको सैन्य अभ्यास सकिएको चीनको घोषणा

साउन २६, २०७९ मा प्रकाशित
Published at 2022-08-11

193 views

काठमाडौँ । चीनले ताइवानको नजिकै भइरहेको सैन्य अभ्यास सकिएको घोषणा गरेको छ । अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणको विरोधमा चीनले एक हप्ताभन्दा लामो सैन्य अभ्यास गरेको हो ।

ताइवान आसपासमा भएको सैन्य अभ्यासका क्रममा विभिन्न मिसनलाई सफलतापूर्वक पूरा गरेको र सेनाको संयुक्त युद्ध क्षमताको प्रभावकारी परीक्षण समेत भएको चीनले जनाएको छ ।

यसैबीच, चीनले ताइवानसँगको शान्तिपूर्ण एकतामा जोड दिने बताएको छ ।

बेइजिङको स्टेट काउन्सिलअन्तर्गतको ताइवान मामिला कार्यालय र सूचना कार्यालयले श्वेतपत्र निकालेर चीनको पुनःएकीकरण प्रक्रिया कसैगरी नरोकिने दाबी गरेको बीबीसीले जनाएको छ । बेइजिङले ताइवान एकीकरण गरी छाड्ने दृढसङ्कल्प व्यक्त गरेको छ ।

ताइवानप्रति धेरै हदसम्म मेलमिलापकारी भाषा श्वेतपत्रमा प्रयोग गरिएको छ । जसमा ताइवानसँग सम्बन्ध सुधार्न चीन इच्छुक रहेको उल्लेख छ । श्वेतपत्रमा एकीकरण भइसकेपछि पनि ताइवानमा अन्य देशले आर्थिक र सांस्कृतिक सम्बन्ध विकास गर्नसक्ने उल्लेख छ ।

बेइजिङले सन् १९९३ मा ताइवानबारे पहिलो श्वेतपत्र जारी गरेको थियो । त्यसअघि सन १९९२ मा दुई पक्षबीच एक देश, दुई व्यवस्थाका विषयमा सहमति भएको थियो । पछिल्लो श्वेतपत्र भने अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणपछि आएको हो । चीनले अमेरिकाको केही शक्तिले ताइवानलाई आफूविरुद्ध गोटीका रूपमा प्रयोग गर्न खोजेको आरोप लगाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright © 2021 News. All Rights Reserved. Website by Muncha Developers.