सुर्खेत,असार १७ । सुदुरपश्चिमको पहाडी जिल्ला बझाङमा दुई दिनदेखि लगातार भूकम्पको धक्का महसुस भएपछि स्थानीयबासिन्दा त्रसित बनेका छन् । बुधबार दिउँसो २ बजे पहिलोपटक पाँच म्याग्निच्यूडको भूकम्प गएको थियो । त्यसपछि बभाङ केन्द्रविन्दु भएर लगातार भूकम्प गइरहेको छ । विहीबार दिउँसो ३ बजे सम्ममा २१ पटक पराकम्पन गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।

गोरखामा गएको भूकम्पको पराकम्पन नभई बझाङमा नयाँ भूकम्पको धक्का मापन भएको केन्द्रले जनाएको छ । बझाङ सदरमुकाम चैनपुरबाट ११ किलोमिटर उत्तरपूर्व केन्द्र बनाएर भूकम्प गएको र अहिले पनि पराकम्पनहरु नरोकिएको भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक कपिल महर्जनले जानकारी दिए ।

लगातार भूकम्पका धक्काहरु महसुस भएपछि सर्वसाधारण त्रसित बनेका छन् । करिब पाँच सय वर्षदेखि पश्चिम नेपालमा ठूलो भूकम्प नगएकाले कुनै पनि बेलामा ठूलो धक्का आउन सक्ने भन्दै उच्च सतर्कता अपनाउन केन्द्रले आग्रह गरेको छ ।

‘बुधबार दिउँसोबाट लगातार बझाङ केन्द्रविन्दु बनाएर भूकम्प गइरहेको छ, अहिलेसम्म २१ पटक तीन रेक्टर स्केलभन्दा माथिका धक्का महशुस भएका छन्’ महर्जनले भने,‘भविष्यवाणी गर्न त सकिँदैन, तर कुनै पनि बेलामा पश्चिमक्षेत्रमा ठूलो धक्का आउन सक्छ । लगातार पराकम्पन हुनु पनि यसैको संकेत हो, पूर्वसतर्कता अपनाउनु नै उपयुक्त हुन्छ ।’

करिब पाँच सय वर्षदेखि नेपालको पश्चिम क्षेत्रमा ठूलो भूकम्प नगएकाले पनि जोखिम बढी भएको उनको भनाइ छ । गोरखा र बझाङको भूधरातल र बनावट एउटै प्रकृतिको भएकाले पनि यस क्षेत्रमा भूकम्पको जोखिम बढी भएको केन्द्रले जनाएको छ ।

बझाङमा गइरहेको भूकम्पको मापन गर्दै सुर्खेतस्थित भूकम्प मापन केन्द्रका प्राविधिक । तस्बिर: ललितबहादुर बुढा

महर्जनले थपे,‘बझाङमा यसअघि बैशाखमा पनि भूकम्प गएको थियो, त्यहाँ आसपासको क्षेत्रमा बेलाबेलामा धक्का महसुस हुने गरेको छ । यसपटक लगातार धक्का आइरहेको छ, सावधानी अपनाउनु हितकर हुनेछ ।’

केन्द्रका अनुसार दुई दिनको अवधिमा पाँच म्याग्निच्यूड भन्दा ठूलो धक्का भने मापन भएको छैन । केन्द्रका अर्का प्राविधिक तीर्थ दाहालले पश्चिमक्षेत्रमा पूर्वसावधानी अपनाउनुपर्ने बताए ।

‘अहिलेसम्म बझाङमा मात्र सामान्य घर र विद्यालय भवनहरु चर्किएका छन्, मानविय क्षती भएको छैन’, उनले भने, ‘तर अब सावधानी अपनाउन आवश्यक छ, कति बेला के हुन्छ ढुक्क हुने अवस्था छैन ।’

उनका अनुसार बझाङमा विस्तारै धक्काहरु कमजोर बन्दै गएका छन् । अहिले दक्षिणतर्फ रहेको इण्डियन प्लेट र उत्तरतर्फ रहेको तिब्वेतियन प्लेट एक आपसमा घर्षण भइरहेका धक्का आइरहेको केन्द्रको भनाइ छ । भूकम्पको जोखिम बढी भएको र पश्चिमक्षेत्र संवेदनशील भएकाले पनि पश्चिम क्षेत्रमा उच्च सतर्कता अपनाउन कार्यालयले आग्रह गरेको छ ।

लगातार भूकम्पको धक्का आउन थालेपछि अहिले वीरेन्द्रनगरमा रहेको भूकम्प मापन केन्द्रमा रहेका प्राविधिक तथा कर्मचारीहरु पनि सतर्क अवस्थामा छन् ।

भूकम्प मापन केन्द्र सुर्खेतले सावधानी अपनाउन आग्रह गर्दै हल्लाको पछि नलाग्न र भागदौड नगर्न सर्वसाधारणहरुलाई आग्रह गरेको छ ।

कार्यालयले होसियारीपूर्वक सचेत रहन आग्रह गर्दै नआत्तिन समेत सुझाव दिएको छ । बझाङमा भने सर्वसाधारणहरु त्रसित बनेका छन् ।

स्थानीय प्रशासनले सर्वसाधारणहरुलाई नआत्तिन आग्रह गर्दै सुरक्षाकर्मीलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ । बझाङमा लगातार पराकम्पन गएपछि आसपासका जिल्लामा समेत सर्वसाधारणहरु त्रसित बनेका छन् ।

-अन्नपूर्ण पोष्ट

16.12¡ÆC