एक हप्ता काठमाण्डौ उपत्यकाको फोहर नउठ्ने

साउन ५, २०७९ मा प्रकाशित
Published at 2022-07-21

87 views

नुवाकोट। अबको एक हप्ता काठमाण्डौ उपत्यकाको फोहर नउठ्ने भएको छ ।

यसअघि फोहर व्यवस्थापन गर्दै आएको नुवाकोटको सिसडोलदेखि दीर्घकालीन फोहर व्यवस्थापनस्थल बञ्चरेडाँडासम्म जाने झण्डै दुई किलोमिटर बाटो मर्मतको काम भइरहेकाले अबको एक हप्ता फोहर व्यवस्थापनको काम नहुने भएको हो ।

सहरी विकास मन्त्रालयले फोहरको गाडी आवतजावत गर्दा बाटो मर्मतको काममा समस्या आएको भन्दै काठमाण्डौ महानगरलाई केही दिन फोहरको गाडी नपठाउन आग्रह गरेको थियो । आजदेखि काठमाण्डौ उपत्यकाको १८ वटा पालिकाको फोहर व्यवस्थापनको काम रोकिने काठमाण्डौ महानगर वातावरण विभाग प्रमुख सरीता राईले जानकारी दिनुभयो ।

बाटो मर्मतकै कारण यसअघि पनि बिहान ४ बजेदेखि दिउँसो १२ बजेसम्म मात्रै उपत्यकाबाट फोहरको गाडी अन्तिम व्यवस्थापनस्थलसम्म पुग्ने गरेका थिए । महानगरपालिकाले आ–आफ्नो घर पसल व्यवसायबाट उत्पन्न हुने कुहिने र नकुहिने फोहरलाई सडक, चोक, सार्वजनिकस्थलमा नफाली घरभित्रै छुट्टाछुट्टै राख्नका लागि आग्रह गरेको छ । हरेक दिन उपत्यकाबाट १ हजार २ सय मेट्रिक टन फोहर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ । यसमध्ये सबैभन्दा बढी काठमाण्डाै महानगरको ५ सय मेट्रिक टन फोहर निस्किने गर्छ ।

निजी र महानगरका गरी दैनिक कम्तीमा २ सय गाडी फोहर लाने गरिएकाेमा अहिले मुस्किलले ५० गाडीमात्र सिसडोल पुग्ने गरेका छन् । अहिले निर्माण भइरहेको दीर्घकालीन ल्यान्डफिल साइट नुवाकोट र धादिङको सिमानामा पर्छ। उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहरमध्ये झण्डै ७५ प्रतिशत सिसडोलमा व्यवस्थापन गरिँदै आएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright © 2021 News. All Rights Reserved. Website by Muncha Developers.