काठमाडौँ । परराष्ट्र मन्त्रालयले अमेरिकी सेनाको स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी) मा सहभागी नहुने सरकारको निर्णय अमेरिकालाई पठाउने विषयमा अध्ययन भइरहेको प्रतिक्रिया दिएको छ । अध्ययन भइरहेकाले पत्राचार गर्न ढिला भएको मन्त्रालयले बताएको छ ।
बुधबार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता सेवा लम्सालले नेपाली सेनाले विपदका नाममा सहयोग लिएको भनेको हुँदा सोही विषयमा छलफल भइरहेको बताइन् ।
‘हामी सरोकारवालासँग छलफल गरिरहेका छौं । यसअघि पनि सहयोग आइरहेको छ’, प्रवक्ता लम्सालले भनिन्, ‘विपद सहयोग, पूर्वाधार लगायतका विषय छन् । आइरहेका सहयोग नरोकिउन भन्ने हाम्रो कन्सर्न हो । हामी त्यही अनुसार अध्ययन र छलफलमा छौं ।’
एसपीपीका विषयमा सदन र सडकबाट विरोध भएपछि मन्त्रिपरिषद बैठकले सहभागी नहुने निर्णय गरेको थियो । त्यससम्बन्धी जानकारी सरकारले परराष्ट्र मन्त्रालयमार्फत अमेरिकालाई दिने निर्णय गरे पनि अहिलेसम्म पत्राचार भएको छैन ।