लाङटाङ राष्ट्रिय निकुञ्जमा १८ हजारभन्दा धेरै पर्यटक भित्रिए

साउन २, २०७९ मा प्रकाशित
Published at 2022-07-18

110 views

रसुवा । आर्थिक वर्ष २०७८/७९ मा १८ हजारभन्दा धेरै पर्यटक लाङटाङ राष्ट्रिय निकुञ्जमा भित्रिएका छन् ।

निकुञ्जभित्र रहेका प्राकृतिक, धार्मिक, ऐतिहासिक र पर्यटकीय क्षेत्रको अवलोकनका लागि १८ हजार ६ सय ५१ पर्यटक आएका हुन् । जसमध्ये १५ हजार ६ सय ३९ नेपाली, २ हजार ७ सय ८८ विदेशी र २ सय २४ सार्क राष्ट्रका पर्यटक छन् ।

कोरोनाको कारण करिब लामो समयसम्म पर्यटकको आगमन कम भएको भए पनि गएको वर्ष केही सुधार भएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार निकुञ्जमा आउने पर्यटकमध्ये नेपाली धेरै छन् ।

निकुञ्ज आएका पर्यटकमध्ये पर्यटकीय क्षेत्र लाङटाङ, धार्मिकस्थल गोसाइँकुन्ड र तामाङ सम्पदा मार्गको अध्ययन, अवलोकन गर्न पुग्ने गरेका छन् । साउनदेखि असोजसम्म निकुञ्जमा कम पर्यटक आउँछन् ।असोज १५ गतेदेखि कार्तिक मसान्त र चैतदेखि वैशाख अन्तिमसम्म बढी पर्यटक आउने गरेका छन् । जिल्लाको पर्यटकीय क्षेत्रहरूमा बाह्रै महिना पर्यटक आउने गरेका छन् । तर तीन महिना पर्यटनको लागि उपयुक्त मौसम नहुने भएकाले कम हुने गरेको निकुञ्जले जनाएको छ ।

पर्यटक आउने क्रम बढेसँगै राजस्व सङ्कलन पनि बढ्दै गएको छ । भूकम्प गएको वर्ष र कोरोना सुरु भएको दुई वर्षसम्म पर्यटकको आगमन घटेको थियो ।

गाइड र पोर्टरबिना समेत जान सकिने भएकाले यस क्षेत्रमा पर्यटकको आगमन बढेको होटल तथा पर्यटन व्यवसायी सङ्घ रसुवाका अध्यक्ष निशान गजुरेलले बताउनुभयो । ‘लाङटाङ क्षेत्रमा ट्रेकिङका लागि पर्यटक आउने गरेका छन्, उहाँले भन्नुभयो, पदयात्रा छोटो र सहज भएकाले पर्यटक थप आकर्षित भएका हुन् ।’

इजरायल, फ्रान्स, क्यानडा, जापान, इटली, अमेरिका, थाइल्यान्ड, बेलायत, रसिया, स्पेन, उरुग्वे, कोरिया, सिङ्गापुर लगायतका देशबाट पर्यटक आउने गरेका छन् । लाङटाङ राष्ट्रिय निकुञ्जमा आएका विदेशी पर्यटकमध्ये करिब ९० प्रतिशत पर्यटक लाङटाङ पुग्छन् । धेरै नेपालीको भने गोसाइँकुण्ड पहिलो रोजाइमा पर्ने गरेको छ ।

निकुञ्ज क्षेत्रमा आएपछि लाङटाङलगायतका एक दर्जन हिमश्रृङ्खला, गोसाइँकुण्डसहित विभिन्न कुण्ड, ऐतिहासिक स्थल रसुवागढी, विश्वको दुर्लभ रेडपाण्डा, हिमचितुवालगायतका जनावर पनि देख्न सकिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright © 2021 News. All Rights Reserved. Website by Muncha Developers.