राप्ती पुल समयसीमा अगावै निर्माण

असार २८, २०७९ मा प्रकाशित | 340 views

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको वडा ११ र १२ जोड्ने राप्ती पुल समयसीमा अगावै निर्माण सम्पन्न भएको छ । २ सय १५ मिटर लम्बाइ रहेको पुल २७ करोड ४६ लाख २० हजार रुपैयाँमा ठेक्का सम्झौता गरेर तीन महिना अगाडि नै काम सकिएको हो ।

तोकिएको समयसीमा भन्दा अगाडि नै पुल बनेपछि स्थानीय बासिन्दा खुसी भएका छन् । वाग्मती प्रदेशको यातायात पूर्वधार निर्देशनालय हेटौंडाले निर्माण कम्पनी मार्फत पुल निर्माण गरेको निर्देशनालयका प्रवक्ता इन्जिनियर हरिप्रसाद ओझाले जानकारी दिनुभयो । यो पुलको वाग्मती प्रदेशका तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलले २०७७ मंसिर १८ गते शिलान्यास गर्नुभएको थियो । वाग्मती प्रदेश यातायात पूर्वाधार निर्देशनालयले पक्की पुल २०७६ असोज २७ गते निर्माण कम्पनी एलिट कन्स्ट्रक्सन कम्पनीसँग सम्झौता गरेको थियो ।

निर्माण कम्पनीले असार २४ गते पुल र ७ सय मिटरको एप्रोच सडक मन्त्रालयलाई हस्तान्तरण गरेको छ । यातायात पूर्वाधार निर्देशनालय हेटौंडाका निर्देशक सहदेव भण्डारीका अनुसार पुल २०७९ असोज २६ गते निर्माण सम्पन्न मिति तोकिएको थियो । वाग्मती प्रदेश सरकार गठन भएदेखि अहिलेसम्म ७१ वटा पुल निर्माण भइसकेको छ । जसमध्ये दुईवटा पुल तोकिएको समय भन्दा अगाडि सम्पन्न भएका छन् । प्रदेशले ठेक्का आह्वान गरेकोमध्ये ३० वटा पुल निर्माणाधीन अवस्थामा रहेको मन्त्रालयले जनाएको छ ।

निर्माण कम्पनीलाई दैनिक शून्य दशमलव ५ प्रशितका दरले बाँकी समयको रकम पुरस्कार स्वरुप उपलब्ध गराउने पनि निर्देशक भण्डारीले बताउनुभयो । यसअघि प्रदेशले निर्माण गरेको नुवाकोटको तादी खोलाको ६५ मिटरको पक्की पुल तोकिएको समयभन्दा अगाडि नै निर्माण सम्पन्न भएको थियो ।

पक्की पुल नहुँदा स्थानीयबासिन्दालाई विशेष गरी बर्खामा गाडी वारपार गर्न समस्या हुने गरेको थियो । पक्की पुल र बाटो निर्माण भएसँगै त्यसक्षेत्रमा उत्पादन हुने खाद्यान्न तथा अन्य उत्पादन बजार ल्याउन सहज हुने स्थानीय अशोक दुलालले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web