सामाजिक सञ्जालको प्रयोग गरेर ठगी गर्ने क्रम बढेको भन्दै सचेत रहन प्रहरीको आग्रह

असार ११, २०७९ मा प्रकाशित | 247 views

काठमाडौँ । प्रहरीले पछिल्लो समयमा सामाजिक सञ्जाल तथा विभिन्न माध्यम प्रयोग गरी प्रलोभन दिएर ठगी गर्ने कार्य बढिरहेको भन्दै त्यसतर्फ सचेत हुन अनुरोध गरेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले सूचना निकालेर त्यस्ता गतिविधि भइरहेको जानकारी आएमा सूचना दिनसमेत अनुराेध गरेको छ । पछिल्लो समय नेपालमा अवैध ऋण लगानी गरी दिएको रकमको धेरै गुणा रकम तिरिसक्दासमेत तमसुक, चेक वा दृष्टीबन्धक जग्गा फिर्ता नदिई उठीवास गराउने गरेको, वैदेशिक रोजगारीको प्रलोभन, फोन, मेल र सामाजिक सञ्जालको दुरुपयोग गरी वा सामाजिक सञ्जालमा साथी बनाई चिठ्ठा, उपहारका नाममा ठगी, सस्तो मूल्यमा सामान पठाई दिने भनी ठगी गर्नेजस्ता घटना देखिएको ब्युरोका प्रहरी उपरीक्षक श्यामकुमार महतोले बताउनुभयो ।

यस्तै विदेशी नागरिकको आवरणमा आकर्षक गन्तव्यमा पठाइ दिने, विवाह गर्ने, व्यापारिक साझेदार बनाउने वा सामाज सेवाका नाममा डलरले भरिएका बाक्साका फोटो देखाई एवं झुठा श्रव्य दृष्य सामग्रीसमेत पठाइ भ्रममा पारी ठगी गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ । त्यसैगरी नजिकका व्यक्ति बनी आकस्मिकरुपमा फोनका माध्यमबाट पैसा मागी ठगी गर्ने, मोबाइल बैंकिङका पासवर्ड र बैंकका विवरण मागी रकम झिक्ने, सामाजिक सञ्जालमा भिडियो कल गरी अश्लिल फोटो तथा भिडियो लिई अपलोड गरिदिने धम्की दिई आपराधिक लाभ लिने, नेपालीको बैंक खातामा अवैध रकम जम्मा गर्न लगाई हुण्डीमार्फत विदेशमा पठाउन लगाउने वा नचिनेका व्यक्तिलाई पैसा दिन लगाई आपराधिक कार्यमा संलग्न गराउने कार्य भएको भनी प्रहरीमा उजुरीसमेत परेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web