कपडामा सुन दलेर अवैध ओसारपसार गर्ने ७ जना पक्राउ

जेष्ठ २३, २०७९ मा प्रकाशित | 457 views

काठमाडौँ । सुनको अवैध ओसारपसार गर्ने सात जना पक्राउ परेका छन् । सुनको पेस्ट बनाएर कपडाको भित्री भागमा राखी अवैध रूपमा ल्याएको आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरेको हो ।

शनिवार दिउँसो दुबईबाट नेपाल वायु सेवा निगमको जहाजमार्फत नेपाल आएका उनीहरूलाई भन्सार छलेर सुन ल्याएको आरोपमा पक्राउ गरेको काठमाण्डाै उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

पक्राउ परेकामध्ये गुल्मी घर भइ रूपन्देहीको सैनामैना नगरपालिका १ बस्ने सुरेशबहादुर शाही र कपिलवस्तुका सन्दीप चन्द ठकुरीले लगाएको सर्ट, पाइन्ट र भित्री वस्त्रलगायत विभिन्न कपडामा सुनको पेस्ट लगाएको फेला परेको हो । सन्दीप चन्द ठकुरीबाट पाँच सय ७२ ग्राम र सुरेशबहादुर शाहीबाट तीन सय ९६ दशमलव ८९ ग्राम सुन फेला पारेको हो । प्रहरीले सुन कपडाबाट पगालेर निकालेको हो । प्रहरीले दुई जनालाई निगरानीमा राखी उनीहरूसँग कपडा लिएका पाँच जनालाई पक्राउ गरेको हो ।

विमानस्थलबाट कपडा ल्याउनेले अर्कोलाई र अर्कोले अर्कोलाई गरी तीन तहका मानिस समातिएका हुन् । कपडा लिएर पक्राउ पर्नेहरूमा बारा जितपुर सिमरा घर भइ बौद्ध बस्ने निर्मला घलान, धनुषा बडेश्वर घर भइ बूढानीलकण्ठ बस्ने वरूणभक्त माथेमा, नवलपरासी पश्चिम सुनवाल घर भइ माछापोखरी बस्ने युवराज भुसाल, चीनको तिब्बत घर भइ बौद्ध बस्ने लोप्साङ ग्याल्सेन र भारतको दिल्ली घर भइ ललितपुरको बागडोल बस्ने अमन राजपूत रहेका छन् ।

पक्राउ परेकाहरूमाथि थप अनुसन्धान र कारबाहीका लागि आज अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचरण पठाइएको काठमाण्डाै उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web