बलात्कारविरुद्धको उजुरीमा हदम्याद नलाग्ने गरी कानुन ल्याइनेछ : प्रधानमन्त्री

जेष्ठ १६, २०७९ मा प्रकाशित | 305 views

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले बलात्कारविरुद्धको उजुरीमा हदम्याद नलाग्ने गरी कानुन संशोधनको विधेयक संसदमा चाँडै प्रस्तुत गरिने बताउनुभएको छ ।

चौथो राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा आज साेमवार आयोजित मूल समारोहको कार्यक्रममा प्रधानमन्त्री देउवाले महिला हिंसाका घटनामा सरकारले शून्य सहनशीलता अपनाउने र लैङ्गिक समानताका लागि संविधानले दिएको समावेशी समतामूलक हक, अधिकार कार्यान्वयनका लागि सक्दो पहल गर्ने पनि बताउनुभयो ।

उहाँले निर्मला पन्तको हत्याका दोषीलाई पक्राउ गर्न समय लागे पनि प्रहरीले अनुसन्धान गरिरहेकाले एक दिन हत्यारा कानुनी नियन्त्रणमा आउने विश्वास व्यक्त गर्नुभयो । प्रधानमन्त्री देउवाले लैङ्गिक समानताका दृष्टिले नेपाल दक्षिण एसियामै अग्रणी देश रहेको र महिलालाई शिक्षा, स्वास्थ्य, रोजगारी र सम्पत्तिमा स्वामित्व वृद्धिका लागि नीतिगत र कानुनी प्रबन्ध गरिएको स्पष्ट गर्दै राज्यका सबै निकायमा महिलाको सार्थक सहभागिता र उपस्थितिका लागि पनि सरकार क्रियाशील रहेको अवगत गराउनुभयो ।

विसं २०६३ जेठ १६ गते तत्कालीन पुनर्स्थापित संसद्ले राज्यका सबै निकायमा ३३ प्रतिशत महिलाको सुनिश्चिततालगायत चार बुँदे महिला अधिकारका सवालमा सङ्कल्प प्रस्ताव पारित भएको दिनलाई नेपाल सरकारले विसं २०७६ देखि राष्ट्रिय दिवसका रूपमा मनाउन थालेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web