किताब छपाइमा लापरबाही, कुनैमा स्टिच छैन, कुनैमा अक्षर अस्पष्ट

जेष्ठ १६, २०७९ मा प्रकाशित | 474 views

काठमाडौँ । काठमाण्डौको बागबजारमा रहेको सहिद शुक्र माविमा कक्षा १० मा पढ्ने गायत्री सोती मगर किताब किन्न पुतलीसडकको पुस्तक पसल पुग्दा अचम्ममा पर्नुभयो । उहाँले पसलमा रहेका सबै किताब छान्नु भयो । तर एउटै पनि राम्रो भेटिएन । कुनैमा अक्षर प्रष्ट छैनन् त कुनैमा अगाडि पेजको अक्षर पछाडिसमेत छापिएका छन् ।

किताबको बाहिरी कभरमा पनि राम्रोसँग स्टिच लागेको छैन । किताब पल्टाउँदा बीचबीचबाट पाना निस्किन्छन् । ‘कुन पाठ कहाँ छ भनेर खोजी राख्नु पर्छ । अक्षर धमिला भएर बुझ्न पनि गाह्रो छ । कतै एउटै पाना दोहोरिएका छन् कतै छुटेका छन् । फोटो र चित्र भएको ठाउँमा मसी लत्पतिएको छ । बिग्रेको किताब फिर्ता गरेर अर्को लैजानु पर्यो भनेको, अर्को पनि उस्तै रहेछ’ कक्षा १० को विज्ञान किताब देखाउँदै उहाँले भन्नु भयो ।

कुनै किताब मैला र पुराना देखिन्छन्, कुनैका पाना जोडिएका छन् । कुनै किताबको आकार पनि बाङ्गो टिङ्गो छ । नयाँ किताब हेर्दा त पढुँ पढुँ लाग्नुपर्ने हो, तर फोहर र च्यातिएको पाना देख्दा पढ्ने जाँगर नै हराउँछ । छोरालाई किताब किन्न पुतलीसडक पुग्नुभएका कोटेश्वरका प्रकाशचन्द्र घिमिरे पनि यस्तै चिन्तामा हुनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘निजी विद्यालयमा पढाउन नसकेपछि सरकारीमा भर्ना गर्नु पर्यो । तर विद्यालयमा प्रयोग गरिने किताबको गुणस्तर हेर्दा छोराको पढाइ बिग्रिने हो कि भन्ने पनि डर छ । अहिलेका किताब एक त रङ्गिन छन्, जुन राम्रो पनि हो । तर धमिलो भयो भने आँखालाई असर गर्छ ।’

काठमाण्डौका केही पुस्तक पसलमा मात्रै होइन, धेरैतिर यस्तै समस्या छ । एकातिर भनेको बेलामा किताब पाइँदैन, अर्कोतिर बल्लतल्ल छापिएर आएको किताब गुणस्तरीय छैन । भनेकोजस्तो किताब नपाउँदा विद्यालय, शिक्षक, विद्यार्थी र अभिभावकलाई त चिन्ता छ नै, पुस्तक पसलेहरुलाई पनि छुट्टै समस्या छ ।

काठमाण्डौ बागबजारमा पुस्तक पसल चलाउने रसुवा कालीका गाउँपालिकाका वीरेन्द्र अवस्थी भन्नुहुन्छ, ‘प्रकाशकले गुणस्तरीय किताब छाप्नु पर्छ भनेर सोचेकै छैन । किताबको गाता दह्रो बनाउन प्लास्टिक कोट गरिएको छैन । हातले प्याकेजिङ गर्नु पर्ने किताब मेसिनले गरेपछि राम्रो किताब पनि बिग्रिने भयो । यस्ता किताब कसैले पनि लैजान मान्दैनन् ।’

देशभरका विद्यालयमा झन्डै १ करोड ९० लाख किताबको माग भए पनि अहिलेसम्म १ करोड ६० लाख किताब मात्र छापिएको छ । भर्ना भएको १५ दिनसम्ममा विद्यार्थीले किताब पाइसक्नु पर्ने नियम भए पनि त्यसो हुन सकेको छैन । समयमै किताब नपाउने विद्यार्थी त अन्योलमा छन् नै, किताब पाउने विद्यार्थीलाई पनि किताब देख्दैमा दिक्क लागेको छ ।

प्राविधिक गडबडीले किताब कम गुणस्तरको छापिएको बताउनुहुन्छ जनक शिक्षा सामग्री केन्द्रका प्रवक्ता चित्र कुमार आचार्य । ‘सधैँ वैशाखदेखि सुरु हुने शैक्षिकसत्र अघिल्लो वर्ष असारदेखि सुरु भयो । त्यसैमाथि पालिका चुनावमा मतपत्र छाप्नु पर्दा किताब छाप्न ९ महिना मात्र समय मिल्यो । पर्याप्त समय, कच्चा पदार्थको व्यवस्था, बजेट र फेरिने पाठ्यक्रमको समयमै जानकारी पाउन सक्ने हो भने यस्ता गल्ती कम हुने थिए’ उहाँ भन्नुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web