किस्पाङमा एमाले र माओवादी केन्द्रबीच तालमेल, काँग्रेसलाई बनायो सकस

बैशाख २७, २०७९ मा प्रकाशित
Published at 2022-05-10

95 views

काहुले । यही बैशाख ३० गते हुन लागिरहेको स्थानीयतहको निर्वाचनमा पार्टीको केन्द्रीय परिपत्रलाई चुनौती दिदै नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच तालमेल भएको कारण नुवाकोटको किस्पाङ गाँउपालिकामा बलियो शक्तिको रुपमा रहेको नेपाली काँग्रेसलाई चुनाव जित्न यो पटक चुनौती देखिएको छ ।
यसअघि, नेपाली काँग्रेसले अध्यक्ष, उपाध्यक्ष सहित ५ मध्ये तीनवटा वडा जितेको भएपनि यो पटक भने बामगठबन्धनको रुपमा नेकपा एमाले र माओवादी केन्द्रको पलिकादेखि वडातहसम्मको तालमेलले बाहिरबाट हेर्नेलाई चुनावी प्रतिस्पर्धा रोचक र चुनाव खेल्नेलाई भने ठूलो चुनौती बनेको छ । यसअघिको चुनावमा अध्यक्षमा पराजित हुनुभएका वीरबल तामाङ पुनः नेकपा एमालेबाट अहिले पनि अध्यक्षमा नै उठ्नुभएको छ ।
यस्तै, यसअघिका बिजेता छत्रबहादुर लामा नेपाली कांग्रेसबाट अध्यक्षको उम्मेदवार उठ्नु भएको छ । नेकपा एमालेलाई माओवादीले समर्थन गरेको छ भने काँग्रेस एक्लै चुनावी प्रतिस्पर्धामा उत्रिएको छ । यो सगैँ अध्यक्ष पदमा महेन्द्रमान तमाङ जनता समाजवादी पार्टी, सोममाया तामाङ राष्ट्रिय प्रजातन्त्र पार्टी, रामकृष्ण न्यौपाने स्वतन्त्र, शेरबहादुर तामाङ मंगोल नेशनल अर्गनाइजेसन र सुब बहादुर तामाङ जनसमाजवादी पार्टीबाट अध्यक्षका उम्मेदवार बनेका छन् ।
यस्तै, उपाध्यक्षमा दिलकुमारी मोक्तान नेपाली कांग्रेस र यसअघिको चुनावमा माओवादी केन्द्रबाट अध्यक्षका उम्मेदवार रहनुभएका अर्जुनप्रसाद न्यौपाने यो पटकको चुनाव नेकपा एमालेसंग तालमेल गर्दै नेकपा माओवादी केन्द्रको तर्फबाट उपाध्यक्ष पदमा उम्मेदवारी दिनुभएको छ ।
यस्तै, मिनमायाँ लामा जनता समाजवादी पार्टी, शर्मिला तामाङ राष्ट्रिय प्रजातन्त्र पार्टी, पुष्पा तामाङ मंगोल नेशनल अर्गनाइजेसनबाट उम्मेदवारी दिएका छन् ।
उपाध्यक्ष सहित वडा नं. १ देखि ३ सम्मको वडा नेकपा माओवादी केन्द्रलाई र अध्यक्ष सहित वडा नं. ४ र ५ को र्दुइ वटा वडा नेकपा एमालेले लिएर जसरी पनि चुनाव जित्ने र काँग्रेसको बलियो संगठन तोड्ने तयारीमा लागेको छ । तर, नेपाली काँग्रेसको उम्मेदवार छत्रबहादुर लामालाई हराउन केन्द्रिय परिपत्रको उल्लंघन गर्दै नेकपा माओवादी केन्द्रका पालिकादेखि जिल्लातहका नेताहरुले समेत नेकपा एमालेसंग गरेको तालमेल सफल हुनेमा चुनौती देखिएको छ ।
बामगठबन्धनले बनाएको रणनीति विरुद्ध नेपाली काँग्रेसको किस्पाङमा रहेको बलियो संगठन, यसअघि अध्यक्ष र उपाध्यक्ष सहितको ५ मध्ये तीनवटा वडामा बिजयी भएसगैँ जनप्रतिनिधिको रुपमा पाचवर्षे सेवा प्रवाहमा गरेको उत्कृष्ट कार्यसम्पादन, जनताको सुख–दुःखमा सदैव जहाँ पनि–जहिले पनि साथ दिदै आउनुभएका अहिलको नेपाली काँग्रेसबाट अध्यक्षका उम्मेदवार छत्रबहादुर लामा बलियो उम्मेदवारको रुपमा आफ्नो चुनावी अभियानलाई कायमै राख्नुभएको छ ।
यसअघिको चुनावको उम्मेदवारी दिने समयमा नेकपा एमालेबाट नेपाली काँग्रेसतिर लाग्नुभएका छत्रबहादुर लामाले सोही समयमा समेत नयाँ पाटी प्रवेशसगैँ सहजै चुनाव जितेको मनोबल यो पटक गठबन्धन हुदाँ पनि चुनाव जित्न सकिन्छ भन्ने विश्वासमा देखिनुभएको छ ।
त्यसको लागी किस्पाङमा रहेका १२ हजार १६१ जना कुल मतदाता जनता जनार्दनको रुपमा रहेका छन् । किस्पाङमा कुल मतदाता मध्ये ६ हजार ७९ जना पुरुष मतदाता र ६ हजार ८२ जना महिला मतदाता यो बैशाख ३० को चुनावमा मतदान गर्न योग्य देखिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright © 2021 News. All Rights Reserved. Website by Muncha Developers.