बेत्रावती हाइड्रोले ५६ लाख रुपैयाँ बक्यौता अझै तिरेन

चैत्र २२, २०७८ मा प्रकाशित | 389 views

रसुवा । रसुवाको नौकुण्ड गाउँपालिकामा निर्माण भइरहेको फलाखुखोला जलविद्युत् आयोजनाको २८ महिनादेखि विद्युत् महसुल भुक्तानी भएको छैन । नेपाल विद्युत् प्राधिकरण धुन्चे वितरण केन्द्रका अनुुसार आयोजना निर्माण गरिरहेको बेत्रावती हाइड्रोपावर कम्पनीले २०७६ मङ्सिरदेखि विद्युत् महसुल भुक्तानी गरेको छैन । कम्पनीले ५५ लाख ९५ हजार तीन सय १९ रुपैयाँ महसुल तिर्न बाँकी छ ।

कम्पनीले चार वटा टड मिटर राखेर आयोजनामा काम गरिरहेको थियो । ६ महिनाअघि आयोजना निर्माणस्थलमा पुग्दा निर्माण कार्य नभएको पाइएको केन्द्रका प्रशासन प्रमुख एवम् सूचना अधिकारी दीपरमण अधिकारीले बताउनुभयो । ‘कोरोनाका कारण चिनियाँ कामदार चीन फर्किएपछि आयोजनाको काम अघि नबढेको पाइएको छ’, उहाँले भन्नुभयो, ‘हामी कम्पनीसँग सम्पर्कको प्रयासमा छौँ ।’

उहाँका अनुसार कम्पनी अर्कैको नाममा नामसारी भएको छ । ‘कम्पनी अर्कैको नाममा नामसारी भएको जानकारी आयो’, उहाँले भन्नुभयो, ‘कम्पनीबाट कागजात मगाउन सकिएको छैन ।’ धुन्चे वितरण केन्द्रले महसुल उठाउन नसकिने चिठी बनाएर नेपाल विद्युत् प्राधिकरणमा पठाइएको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web