त्रिशूली । नुवाकोटको ककनी गाँउपालिका–३ अजराङ्गमा शुक्रबार साँझ आगलागी हुदाँ तीन घर जलेर नष्ट भएको छ । आगलागीबाट मैते तामाङ, बुद्धिमान तामाङ र सागर तामाङको घर जलेर नष्ट भएको हो । स्थानीय समाजसेवी कृष्ण ढुङ्गानाको अनुसार आगलागीबाट तामाङ तीन दाजुभाईको घरमा रहेको अन्नपात, भाडावर्तन, लत्ताकपडा, गरगहना सहितको धनसम्पत्ति सबै जलेर क्षति पुगेको छ ।
स्थानीयबासी र ककनीबाट गएको नेपाल प्रहरीको सयुक्त टोलीले आगो नियन्त्रणमा लिएपनि घरमा भएका सम्पत्तिहरु सबै जलेर नष्ट भएको ककनी–३ का वडाध्यक्ष घननाथ बज्रगाईले जानकारी दिनुभयो । उहाँको अनुसार तीन घर सहित सो घरमा रहेका धनसम्पत्ति सबै जलेर नष्ट हुदाँ रु.५० लाख भन्दाबढीको क्षति पुगेको देखिएको छ । आगलागीको कारण एकिन नभएपनि विद्युतीय मिटरबक्सबाट सुरु भएको देखिएकाले विद्युत गढबढबाट हुनसक्ने प्रहरीको अनुमान छ ।
पीडित परिवारलाई जिल्ला प्रशासन कार्यालय नुवाकोटले आज (शनिबार) टेन्ट लगायतको राहत सामाग्रि उपलब्ध गराउने प्रमुख जिल्ला अधिकारी नरायणप्रसाद रिसालले जानकारी दिनुभयो । पीडित परिवारको लागी नेपाल रेडक्रस सोसाइटी नुवाकोट जिल्ला शाखा मार्फत टेन्ट सहितको गैह्रखाद्य राहत सामाग्रि र नुवाकोट प्रशासनले नगद रुपैयाँ घटनास्थलमा नै पुगेर पीडित परिवारलाई उपलब्ध गराउन लागिएको हो ।





23.12¡ÆC