
त्रिशूली, ३० फागुन (रासस) : प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी अनुदान सहयोगको कार्यक्रम मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) राष्ट्रको हितमा भएको स्पष्ट पार्नुभएको छ ।
नुवाकोटको किस्पाङ गाँउपालिकाको नयाँ प्रशासकीय भवनको आज उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले एमसिसी सम्झौता नेकपा (एमाले) नेतृत्वको सरकारले संसद्बाट पारित गर्न पेश गरेकाले अहिले त्यसैलाई अघि बढाएको बताउनुभयो । “ एमसिसीलाई एमालेका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र रक्षामन्त्री भीम रावलले मन्त्रिपरिषद्को सिफारिसमा संसद्बाट पास गराउन पेश गरेको हो ।” प्रधानमन्त्री देउवाले सांसद् भीम रावल प्रति टिप्पणी गर्दै भन्नुभयो “एमसिसी राष्ट्रघाती भन्दै हिड्ने उहाँ (भीम रावल) रक्षामन्त्री हुदाँ अनुमोदनको लागी संसद्मा लैजान हस्ताक्षर गर्ने अनि अहिले बिरोध गर्दै हिड्नेले त्यो समयमा किन राजीनामा नदिएको ?”
सरकारमा हुदाँ एमसिसी चाहिन्छ भनेर संसद्बाट पास गर्नुपर्छ भनेर लाग्नेहरु अहिले सत्ताबाट बाहिर हुदाँ बिरोध गरेर दोहोरो चरित्र नदेखाउन प्रधानमन्त्री देउवाले आग्रह गर्नुभयो ।
एमसिसी नेपालको विकासको लागी निःशुल्क प्राप्त भएको अनुदान भएकाले ऋण जतिपनि लिनुपर्ने, यसको (एमसिसी)को त ब्याज समेत तिर्नु नपर्ने भएकाले यो राष्ट्रको हितमा छ, अहित केही पनि नगर्ने उहाँले बताउनुभयो । कार्यान्वयमा केही आशंका देखाइएको छ । अन्तराष्ट्रिय बोलपत्र आह्वान गरेर नेपालको कानून अनुसार सञ्चालन हुने हुदाँ अफबाह फैलानेको पछि नलाग्न आग्रह गर्नुभयो ।
“एमसिसी कार्यक्रम अन्तरगत निर्माण गरिने प्रशारण लाइनबाट बम आउछ भन्नेदेखि पशुपतिमा समेत अमेरिकी सेना भित्रन्छ भनेर भ्रम छरेर केही हुन्न ।” प्रधानमन्त्री देउवाले भन्नुभयो “देशको विकासको लागी यसले फाइदा पुग्छ, रोजगारी सिजर्ना हुन्छ, प्रतिस्पर्धामा यहीँका निर्माण व्यवसायीले नै बनाउने जिम्मा लिन पाउछन् ।”
नेपाली काँग्रेसका सभापति समेत रहनुभएका प्रधानमन्त्री देउवाले स्थानीयहको निर्वाचन नजिक आइसकेकाले त्यसलाई भयरहित वातावरणमा निश्पक्ष रुपमा गराउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।
कार्यक्रममा नेपाली काँग्रेसका कार्यसम्पादन समितिका सदस्य अजुर्ननरसिंह केसी, प्रवक्ता डा.प्रकाशशरण महत, केन्द्रीय सदस्य बहादुरसिंह लामा (तामाङ) नेकपा (एमाले)का केन्द्रीय सदस्य बिन्दा ढुङ्गाना, नेकपा (माओवादी केन्द्र)का प्रदेस सांसद् हिरानाथ खतिवडा लगायतका वक्ताहरुले नयाँ भवनको निर्माणले किस्पाङ गाउँपालिकाले प्रवाह गर्ने सेवामा थप गुणस्तर सहित जनतालाई सहजता पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
विभिन्न श्रोतबाट जुटाइएको रु चार करोड ५६ लाखमा नयाँ भवन निर्माण गरिएको अध्यक्ष छत्रबहादुर लामाले जानकारी दिनुभयो । तोकिएको समय अगावै निर्माण व्यावसायीले उक्त भवन सम्पन्न गरेको हो ।