एक महिना लामो स्वस्थानी व्रत आज समापन

फाल्गुन ४, २०७८ मा प्रकाशित | 351 views

काठमाडौँ । एक महिना लामो स्वस्थानी व्रत आज समापन गरिँदैछ । पौष शुक्ल पूर्णिमादेखि घर–घरमा सुरु गरेको एक महिने स्वस्थानी व्रत आज माघ शुक्ल पूर्णिमाका दिन विधिपूर्वक समापन गर्न लागिएको हो ।

स्वस्थानी व्रत कथामा स्कन्द पुराण अन्तर्गतको केदार खण्डको माघ माहात्म्यमा कुमार र अगस्त्यबीच भएको संवादलाई भन्ने र सुन्ने गरिन्छ । विधिपूर्वक एक महिने व्रत गरेकाले माघ शुक्ल पूर्णिमाका दिन १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ फूल, १०८ रोटी, १०८ अक्षता तथा विभिन्न थरीका फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, वस्त्र र भेटी चढाइ व्रतको कामना पूर्ण होस् भनी भगवतीलाई अर्घ दिने धार्मिक परम्परा छ ।

काठमाण्डुको साँखु शाली नदीमा एक महिना लामो माधव नारायण व्रत पनि आज समापन हुँदैछ । विगत वर्षमा झण्डै चार सय जनाले माधवनारायण व्रत गर्ने गरेकामा यसवर्ष कोरोना महामारीका कारण एक सय २५ जनालाई मात्र स्वास्थ्य सुरक्षाका विधि अपनाएर राखिएको छ ।

आज मध्याह्नकालपछि विधिपूर्वक पूजा गरी व्रत समापन गरी रात्रिमा जागराम बसी भोलि बिहान फूलपाती नदीमा सेलाएपछि यो वर्षको स्वस्थानी व्रत समापन हुने विधि रहेको नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुख प्रा.डा देवमणि भट्टराईले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web