सर्वदलीय बैठकमा संसद् सुरु गराउन पहल गर्ने सहमति

फाल्गुन २, २०७८ मा प्रकाशित | 746 views

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले आह्वान गर्नुभएको सर्वदलीय बैठकमा संसद् सुरु गराउन गम्भीर पहल गर्ने सहमति भएको छ ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेलाई समेत सहमतिमा ल्याएर संसद् सुरु गराउन सरकार र सत्तारुढ दलहरूले गम्भीर पहल गर्ने महत्त्वपूर्ण सहमति गरिएको सभामुख सापकोटाले जानकारी दिनुभयो । उहाँले संसदमा विचाराधीन नागरिकतासँग सम्बन्धित विधेयक, हवाई उडानसँग सम्बन्धित विधेयकलगायतका जनसरोकारका विधेयकहरू पारित हुने वातावरण बनाउन आफूले प्रधानमन्त्री शेरबहादुर देउवा र दलका नेताहरूको ध्यानाकर्षण गराएको पनि बताउनुभयो ।

सभामुख सापकोटाले एमालेसँग संवाद गरेर संसद् सुरु गराउन बैठकले महत्त्वपूर्ण आधार प्रदान गरेको विश्वाससमेत व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘निरन्तर विपक्षसँग सरकारले, सत्तारुढ गठबन्धनले निरन्तर अन्तरक्रिया, छलफल गरेर संसद् सुरु गर्न पहल गर्ने, प्रयत्न गर्ने र सदनमा छलफलको वातावरण तयार पार्नेलगायतका विषयहरूमा धेरै कोणबाट धेरै महत्त्वपूर्ण छलफल भएको छ । त्यसका साथ साथै राष्ट्रिय महत्त्वका विषयमा आम सहमति बन्दा धेरै राम्रो कुरा हुन्छ ।’

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेलाई सहमतिमा ल्याएर संसद् सुरु गराउने विषयमा छलफल गरिएको सत्तारुढ नेकपा (एकीकृत समाजवादी) का सांसद जीवनराम श्रेष्ठले बताउनुभयो । उहाँले एमालेले जुन विषय उठाएर जनताको सार्वभौम थलो संसद्लाई अवराेध पारिरहेको छ, त्यो गैरकानुनी, असंवैधानिक र गलत रहेको दाबीसमेत गर्नुभयो ।

बैठकमा सत्तारुढ गठबन्धनले पनि संसदमा विचाराधीन ४२ वटा विधेयक रहेको उल्लेख गर्दै त्यसलाई अघि बढाउनसमेत नदिएको भन्दै प्रमुख प्रतिपक्ष दल एमालेको आलोचना गरेका थिए भने सभामुख सापकोटाले जनतासँग प्रत्यक्ष सरोकार राख्ने ती विधेयकहरू अघि बढाउन सरकार र सत्तारुढ गठबन्धनले प्रमुख प्रतिपक्ष दल एमालेसँग निरन्तर छलफल गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web