काठमाडौँ । सरकारले देशभर लागू हुने गरी दूधको मूल्य बढाएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले अनुमति दिएसँगै सरकारी स्वमित्वको दूग्ध विकास संस्थान (डीडीसी) ले प्रतिलिटर ९ देखि १४ रुपैयाँ बढाएर दूधको मूल्य सार्वजनिक गरेको छ । निजी डेरीहरूले पनि मूल्यवृद्धिबारे छलफल गरेका छन् र केही दिनमा नयाँ मूल्य तोक्ने बताएका छन् ।
डीसीसीका कार्ययोजना तथा बजार व्यवस्थापन विभाग प्रमुख सजीव झाले भने डीडीसीका दूधमा शुक्रबारदेखि मूल्य बढ्ने बताए । ‘संस्थानको सातवटा दूग्ध विकास आयोजनाबाट उत्पादन हुने विभिन्न ब्राण्डका चार प्रकारका दूधको मूल्य बढाउने निर्णय भएको छ । सबै प्रकारको दूधको मूल्य बढेको छ,’ झाले भने ।
डीडीसीले बिक्री गर्ने स्ट्यान्डर्ड दूध (निलो प्याकेट) को बजार मूल्य काठमाडौं, विराटनगर, हेटौंडा र जनकपुरमा प्रतिलिटर मूल्य ८५ रुपैयाँ तोकिएको छ । यस्तै बुटवल, भैरहवामा एक लिटरको मूल्य ८१ रुपैयाँ, नेपालगञ्ज र धनगढी क्षेत्रमा ७९ रुपैयाँ कायम भएको छ ।
यसअघि यस्तो दूधको मूल्य काठमाडौंमा ७६, बुटवल भैरहवामा ७२ र नेपालगञ्ज क्षेत्रमा प्रतिलिटर ७० रुपैयाँ थियो । नीलो प्याकेटको आधा लिटर दूधको मूल्य काठमाडौं, हेटौंडा, विराटनगर र जनकपुरमा यसअघि ३८ रुपैयाँ रहेकामा अब बढेर ४२ रुपैयाँ ५० पैसा पुगेको छ ।
28.12¡ÆC