संस्कृतमा विद्यावारिधि गर्ने विद्यार्थीले छात्रवृत्तिका लागि आवेदन दिन पाउने

माघ २३, २०७८ मा प्रकाशित | 330 views

काठमाडौँ । नेपाल संस्कृत विश्वविद्यालय दाङमा विद्यावारिधि गरिरहेका विद्यार्थीहरुले छात्रवृत्तिको लागि आवेदन दिन पाउने भएका छन् । विश्वविद्यालय अनुदान आयोगको बोर्ड बैठकले संस्कृत विश्वविद्यालयका विद्यार्थीलाई छात्रवृत्तिको लागि आवेदन दिन पाउने निर्णय गरेको हो ।

नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति तथा विश्वविद्यालय अनुदान आयोगका बोर्ड सदस्य प्रा.डा.यादव प्रसाद लामिछानेले विद्यार्थीको आवेदन स्वीकृत गर्ने निर्णय गरेको बताए ।

उनले भने ‘बोर्ड बैठकले छात्रवृत्तिको लागि संस्कृत विश्वविद्यालयको विद्यार्थीको आवेदन स्वीकृत गर्ने निर्णय गरेको छ । फागुन चार गतेसम्म विद्यार्थीले आवेदन दिन सक्नेछन् ।’

विश्वविद्यालय अनुदान आयोगले ‘द जर्नल अफ यूनिभर्सिटी ग्रान्ट कमिसन’ शिर्षकमा ५० जना विद्यार्थीको लागि दिने छात्रवृत्तिको लागि संस्कृत विश्वविद्यालयका विद्यार्थीले आवेदन दिन नपाएपछि आन्दोलनमा उत्रिने चेतावनी दिएका थिए ।

संस्कृत विश्वविद्यालयमा विद्यावारिधि गरिरहेका शंकर भण्डारीले विद्यावारिधि उपाधिको लागि न्यूनत्तम मापदण्ड तथा कार्यविधि, २०७३ संशोधन गर्नुपर्ने बताए ।
उनले भने ‘हाम्रो आवेदन स्वीकृत गर्ने निर्णय भएको सुनेको छौं । तर हामीले आन्दोलनपछिको यो उपलब्धि हो । तर हामीले पायौं भन्ने मात्रै होइन, हामी पछिका शैक्षिक सत्रका विद्यार्थीले पनि पाउन भन्ने हो । त्यसको लागि कार्यविधि संशोधन हुनुपर्छ ।’

३४ वर्षदेखि विद्यावारिधि पढाउँदै आएको विश्वविद्यालयलाई यो ७३ सालमा बनेको कार्यविधिले अंकुश लगाएको उनको भनाइ छ ।

विद्यार्थीहरुले आइतबार संस्कृत विश्वविद्यालयका विद्यार्थीले छात्रवृत्तिको आवेदन दिन पाउनुपर्ने र कार्यविधि संशोधन गर्नुपर्ने माग राख्दै अनुदान आयोग अगाडि दबाब दिन प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web