काठमाडौँ । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी आज देशभर मनाउन लागिएको छ । वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या, बुद्धि बढ्ने विश्वास रहेको छ ।
आज देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धालुको भीड लाग्ने गरेपनि कोरोना रोगको जोखिमको कारण यो वर्ष औपचारिक कार्यक्रमहरु भने स्थगित गरिएको छ ।
विद्यालय नपठाइएका स–साना बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ गराउने चलन रहेको छ । आजका दिन लेखपढ गर्न सिकाए राम्रो विद्या आउने जनविश्वास रहेको छ । श्रीपञ्चमीको अबशरमा आज बिहानै देखि मुलुकभर रहेको भगवानको मन्दिरहरुमा पूजा–आजा गर्न भक्तजनहरुको घुँइचो लाग्ने गरेको भएपनि यो वर्ष भने कोरोना रोगको जोखिमका कारण निकै कम देखिएको छ ।
यस्तै, विभिन्न विद्यालय तथा शैक्षिक सँस्थाहरुमा पनि आज सरस्वती माताको पूजा पाठ तथा प्रसाद ग्रहणको कार्यक्रमहरु राखिएपनि अघिल्लो वर्षको जस्तो औपचारिक कार्यक्रम भने यो वर्ष स्थगित गरिएको छ । आजका दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाह लगायतका सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेराइराख्नु नपर्ने धार्मिक परम्परा रहेको छ । तर, यो वर्ष अन्नशुक्रको समय भएकाले शुभ साइतका कार्य नगर्नु नै उत्तम हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
आजको दिन बालबालिकालाई शिक्षारम्भ गर्नुका साथै नाक र कान छेडिदिने, संगित, बाद्यबादन सिकाउने लगायतको प्रचलन रहेको छ । आजको दिनमा गाईको बाच्छाहरुलाई खेतबारीमा जोत्न सिकाउने गरिएको छ ।
19.41¡ÆC