मोरङमा बर्ड फ्लू देखिएपछि उच्च सतर्कता

माघ १९, २०७८ मा प्रकाशित | 593 views

काठमाडौं। मोरङमा बर्ड फ्लू देखिएपछि सरकारले उच्च सतर्कता अपनाउन थालेको छ । सरकारले आफ्नो वा नजिकका पन्छी फार्ममा पालिएका कुखुरा, हाँसलगायत बिरामी परेको वा मरेको पाइएमा तत्काल जानकारी गराउन आग्रह पनि गरेको छ ।

आफूले पालेका पन्छी अस्वभाविक रुपमा बिरामी परेको र मरेको वा नजिकमा त्यस्तो पाइएमा तत्काल पशु सेवा कार्यालय वा पालिकामा खबर गर्न पशु सेवा विभागले आग्रह गरेको हो । पछिल्लो समय बर्ड फ्लूको सङक्रमण देखिन थालेको भन्दै विभागले बेलैमा रोगको पहिचान गरी नियन्त्रण गर्न आवश्यक सहयोग गर्न किसान तथा उद्योगी/व्यवसायीलाई आग्रह गरेको हो । विभागका प्रवक्ता एवं वरिष्ठ पशु विकास अधिकृत डा. चन्द्र ढकालका अनुसार प्राप्त सूचनाका आधारमा नमूना सङ्कलन गरी बर्ड फ्लू पहिचान भए जुन ठाउँमा सङक्रमण देखिएको त्यहाँ तत्कालै पन्छी नस्ट गर्ने गरिन्छ ।

सङक्रमण नियन्त्रणका लागि रोगी मात्र नभएर सँगै रहेका पन्छीसमेत नस्ट गर्नुपर्ने भएकाले यसले आर्थिक रुपमा धेरै क्षति गर्ने उहाँको भनाई छ । पन्छी, पन्छीजन्य वस्तु अण्डा, दानामा हुन जाने क्षतिको सरकारले क्षतिपूर्ति दिने व्यवस्था गरेको छ । किसानले क्षतिका आधारमा ७५ प्रतिशतसम्म राहत पाउने व्यवस्था छ । बर्ड फ्लू कुखुरा, हाँस, परेवा तथा जङगली पन्छीमा मात्र नभएर मानिसलाइ समेत सर्ने भएकाले विशेष सावधानी अपनाउन उहाँको सुझाव छ । इन्फ्लूएन्जा भाइरसको कारण देखिने बर्ड फ्लू सङ्क्रामक रोग मानिन्छ । गएको आइतबार मोरङको ग्रामथान–१ खुनियाकट्टा र बुढिगंगा–५ मा बर्ड फ्लू पुष्टि भएपछि सरकारले उच्च सर्तकता तथा निगरानी बढाएको हो । रोग देखिएको मोरङको प्रभावित क्षेत्रमा निसङक्रमण तथा उच्च निगरानी गरेको पनि विभागका प्रवक्ता डा. ढकालले जानकारी दिनुभयो । अरु ठाउँमा सङक्रमण फैलन नदिन चनाखो रहेको पनि उहाँले बताउनुभयो । मोरङमा यो बेला कसरी सङक्रमण देखिएको भन्न नसकिएपनि जङगली तथा आगन्तुक चराबाट सङक्रमण देखिएको हुनसक्ने उहाँको भनाई छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web