परिवार सङ्ख्याभन्दा भूकम्प पीडित लाभग्राही धेरै

माघ १५, २०७८ मा प्रकाशित | 530 views

रसुवा । रसुवामा परिवार सङ्ख्याभन्दा भूकम्पपीडित लाभग्राहीको सङ्ख्या धेरै देखिएको छ ।

राष्ट्रिय जनगणना–२०७८ को प्रारम्भिक नतिजा अनुसार रसुवामा ११ हजार ३ सय ६२ घर छन् । जसमा ११ हजार ८ सय ४१ परिवार बसोबास गर्छन् । तर राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले १२ हजार ३ सय ७ जना भूकम्प पीडितसँग लाभग्राहीका रुपमा सम्झौता गरेको छ ।

प्राधिकरणको तथ्याङ्क अनुसार गोसाइँकुण्ड गाउँपालिकाका १ हजार ९ सय ३६, कालीकाका २ हजार ६ सय ८, नौकुण्डका ३ हजार ३ सय ६३, आमाछोदिङ्मोका २ हजार ३५ र उत्तरगयाका २ हजार ३ सय ६५ जना लाभग्राहीसँग सम्झौता भएको छ ।

प्राधिकरणले गरेको सम्झौता अनुसार जिल्लामा १२ हजार ३ सय ७ वटा घर हुनुपर्ने हो । तर बिहीवार सार्वजनिक भएको राष्ट्रिय जनगणना–२०७८ को प्रारम्भिक नतिजा अनुसार ९ सय ४५ कम घर देखिन्छ । परिवारको सङ्ख्यालाई आधार मान्ने हो भने पनि ४ सय ६६ कम देखिन्छ ।

गोसाइँकुण्ड गाउँपालिकामा २ हजार १ सय ४९ घरमा २ हजार ४ सय ७७ परिवार, कालीकामा २ हजार ४ सय १२ घरमा २ हजार ४ सय ७४ परिवार, नौकुण्डमा २ हजार ८ सय ७८ घरमा २ हजार ८ सय ९९ परिवार, आमाछोदिङ्मोमा १ हजार ६ सय ८८ घरमा १ हजार ७ सय २७ परिवार र उत्तरगयामा २ हजार २ सय ३५ घरमा २ हजार २ सय ६४ परिवार बसोबास गर्ने प्रारम्भिक नतिजामा उल्लेख छ ।

प्राधिकरणको तथ्याङ्कअनुसार गोसाइँकुण्ड बाहेक अन्य गाउँपालिकामा परिवार सङ्ख्याभन्दा धेरैसँग अनुदानको सम्झौता गरेको देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web