भिजिट भिसाको दुरुपयोग गर्नेमाथि निगरानी राख्न गृहमन्त्रीको निर्देशन

माघ ११, २०७८ मा प्रकाशित | 340 views

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणले भिजिट भिसाको दुरुपयाेग नगर्न नेपाली नागरिकलाई आग्रह गर्नुभएको छ ।

गृहमन्त्री खाणले आज मङ्गलवार वैदेशिक रोजगारसँग सम्बन्धित मन्त्रालय र निकायसँग छलफल गर्दै भिजिट भिसा दुरुपयोग गरेर नेपाली नागरिकले तेस्रो देशमा पीडा भोग्नुपरेको उल्लेख गर्दै त्यसको दुरुपयोग नगर्न आग्रह गर्नुभएको हो । उहाँले भिजिट भिसामा गएर त्यसको दुरुपयोग गर्नेमाथि निगरानी राख्न पनि मातहतका निकायलाई निर्देशन दिनुभयो ।

गृहमन्त्री खाणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई व्यवस्थित बनाउन सम्बन्धित निकायलाई अझ प्रयत्न गर्न सचेत गराउनुभयो । उहाँले वैदेशिक रोजगारीमा गएकाहरू ठगीको चपेटामा पर्ने गरेको उल्लेख गर्दै उनीहरूको उद्धारमा सरकार गम्भीर भएर लाग्नुपर्ने बताउनुभयो । गृहमन्त्री खाणले कोभिड सङ्कटको चपेटामा परेका आफ्ना नागरिकलाई विदेशी भूमिमा काम गर्ने क्रममा समस्या नआओस् भन्नेमा सरकार गम्भीर रहेको उल्लेख गर्नुभयाे ।

बैठकमा बोल्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारमा गएका नेपालीमाथि बिचौलियाले ठगी गरेको उल्लेख गर्दै कारबाहीका लागि अनुसन्धान गर्न छुट्टै प्रहरी युनिट परिचालन गर्ने व्यवस्था गर्न गृहमन्त्री खाणसँग आग्रह गर्नुभयो । उहाँले यूएईमा घरेलु कामदार महिलाहरूको समस्या ठूलो रहेको उल्लेख गर्दै ती समस्या समाधानका लागि पनि गृह मन्त्रालयको सहयोग आवश्यक रहेको बताउनुभयो ।

श्रममन्त्री श्रेष्ठले श्रम मन्त्रालय एक्लैको प्रयासबाट मात्रै विदेशमा रहेका नेपाली नागरिकको समस्या समाधान गर्ने अवस्था नरहेको पनि बैठकमा पटक–पटक दोहोर्‍याउनुभयाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web