सत्तारुढ गठबन्धन वैशाखमा पालिकाको चुनाव गर्न सहमत

माघ ४, २०७८ मा प्रकाशित | 290 views

सत्तारुढ गठबन्धन वैशाखमा पालिकाको चुनाव गर्न सहमत

काठमाडौँ । सत्तारुढ गठबन्धनका नेताहरु वैशाखमा नै पालिकाको चुनाव गर्न सहमत भएका छन्।

बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सत्ता गठबन्धनका नेताहरुले संविधानअनुसार समयमै चुनाव गर्नुपर्नेमा सहमति जनाएका हुन् । तर यस विषयमा थप गृहकार्य आवश्यक भएको भन्दै फेरि बैठक बस्ने भएको छ ।

थप छलफल गरेर पर्सि बिहीवार फेरि बैठक बस्ने तयारी गरिएको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

यस्तै, बैठकमा कोरोना भाइरसको जोखिम नियन्त्रण तथा रोकथामका विषयमा समेत छलफल भएको छ । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, जनता समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई, उच्चस्तरीय राजनीतिक समन्वय समितिका संयोजक रामचन्द्र पौडेल, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललगायत उपस्थित भएका थिए ।

निर्वाचन आयोगले वैशाखमा चुनाव गर्न सिफारिस गरे पनि सरकारले अझै यसबारे निर्णय गरेको छैन । सत्ता गठबन्धनले चुनाव सार्न लागेको भन्दै निर्वाचन आयोग, नागरिक समाज, प्रमुख प्रतिपक्ष दल नेकपा एमाले, पालिकाका प्रतिनिधिले खबरदारी गर्दै आएका छन् ।

वैशाखमा चुनाव गर्नको लागि यसै हप्ताभित्र मिति घोषणा गर्नुपर्ने दबाब बढेपछि सत्तारुढ गठबन्धन दल छलफलमा जुटेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web