दूधको मूल्य लिटरमा १० रुपैयाँ बढाउन सिफारिस

माघ २, २०७८ मा प्रकाशित | 385 views

काठमाडौँ । राष्ट्रिय दुग्ध विकास बोर्डले दूधको मूल्य लिटरमा १० रुपैयाँ बढाउन कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा सिफारिस गरेको छ । लामो अध्ययन गरेर दूधको मूल्य बढाउने निर्णयमा पुगिएको बोर्डका कार्यकारी निर्देशक डा.राजेन्द्रप्रसाद यादवले बताए ।

बोर्डले गरेको निर्णय उचित लागेमा मन्त्रिस्तरीय निर्णयबाट मन्त्रालयले दूधको मूल्य बढाउने निर्णय लिन सक्ने छ । अहिले बजारमा प्रतिलिटर दूधको मूल्य ७६ रुपैयाँ छ । ‘बोर्ड, पशु सेवा विभाग, कृषक लगायतका सरोकारवालाको बैठकले मूल्य बढाउने सिफारिस गरेको छ, यो निर्णय किसानको हितमा छ,’ कार्यकारी निर्देशक यादवले भने । मन्त्रालयले दूधको मूल्य बढाउने निर्णय लिए बढेको मूल्यबाट किसानलाई लिटरमा ७ रुपैयाँ र उद्योगलाई तीन रुपैयाँ जाने उनले बताए ।

पछिल्लो साढे दुई वर्षदेखि दूधको उत्पादन लागत बढेको तर सोही आधारमा मूल्य नपाउँदा किसान हतोत्साही भएको बोर्डको दाबी छ । चोकर, दाना र दूध दिने गाई भैंसीको मूल्य नै बढ्दा पनि किसानले पाउने गरी दूधको मूल्य बढाउनु जरुरी भएको कार्यकारी निर्देशक यादवले बताए ।

नेपाल डेरि एशोसिएसनका अनुसार बोर्डले गरेको सिफारिस अनुसार मन्त्रालयले मूल्य बढाउने निर्णय गरे दूधको उपभोक्ता मूल्य प्रतिलिटर ८६ रुपैयाँ पुग्ने छ । अहिले प्रशोधित एक हजार एमएलको दूधको मूल्य ७६ र ५०० एमएलको दूधको मूल्य ३८ रुपैयाँ रहेको एशोसिएसनका अध्यक्ष राधाकृष्ण सापकोटाले बताए ।

बोर्डले गरेको मूल्य बढाउने सिफारिस जायज भएको भन्दै उनले किसान र उद्योगी बचाउन मूल्य बढाउन जरुरी भएको बताए । ‘सरकारको सिफारिस अनुसारनै निर्णय लिए दूधको प्रतिलिटर उपाभोक्ता मूल्य ८६ रुपैयाँ पुग्छ,’ सापकोटाले भने ।

निजी क्षेत्रको आंकलनअनुसार अहिले फ्लस सिजन (धेरै दूध उत्पादन हुने ) मा दैनिक ६० लाख लिटर दूधको उत्पादन छ । जसको ५० प्रतिशत दूध बजारमा बिक्रीका लागि जाने गरे पनि औपचारिक च्यानलमा १७ प्रशित मात्रै दूध रहेको छ । यस अघि २०७६ साल भदौमा सरकारले दूधको मूल्य लिटरमा ६ रुपैयाँले बढाएर ७६ रुपैयाँ पुर्‍याएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web