कालापानी, लिपुलेक क्षेत्रमा भारतले सडक बनाइरहँदा पनि सरकार मौन

पुस २७, २०७८ मा प्रकाशित | 458 views

काठमाडौँ । लिपुलेकको नेपाली भूमिमा भारतले सडकलगायतका संरचना बनाइरहँदा पनि सरकार मौन बसेको भन्दै प्रमुख प्रतिपक्ष नेकपा एमालेले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

एमालेको परराष्ट्र मामिला विभागका प्रमुख डाक्टर राजन भट्टराईले आज मङ्गलवार विज्ञप्ति निकालेर सीमालगायत थाँती रहेका विषयलाई कुटनीतिक माध्यमबाट टुङ्ग्याउने सहमति विपरीत भारतले नेपाली भू–भागमा सडकलगायत संरचना निर्माण गरेकोमा एमालेको ध्यानाकर्षण भएको बताउनुभएको हो । नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाभिमानमाथि आँच पुर्‍याउने यस्ता गतिविधि तत्काल बन्द हुनुपर्ने एमालेले जनाएको छ ।

राष्ट्रियतासँग सम्बन्धित यस्तो गम्भीर विषयमा वर्तमान सरकारको सन्देहास्पद मौनताले अनेकौँ प्रश्न उठेकाे विज्ञप्तिमा भनिएको छ । साथै एमालेले भारतसँग अविलम्ब गम्भीर संवाद गर्न, सबैखाले बलमिच्याइँ रोक्न लगाउन र नेपाली भू–भागमा नेपालको व्यावहारिक स्वामित्व स्थापनाका लागि सार्थक पहल गर्न सरकारसँग माग गरेको छ ।

नेपाल –भारत संयुक्त आयोगको बैठकमा सीमालगायत दुई देशबीच थाँती रहेका विषयलाई कुटनीतिक माध्यमबाट टुङ्ग्याउने भनी सहमति भए पनि त्यसको विपरीत भारतीय पक्षबाट संरचना निर्माणलाई तीव्रता दिएको भन्दै एमालेले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web