चिसो बढेसँगै खुम्बु सुनसान

पुस २०, २०७८ मा प्रकाशित | 522 views

सोलुखुम्बु । सोलुखुम्बुको पर्यटकीय क्षेत्र खुम्बु यतिखेर सुनसान बनेको छ । उच्च हिमाली क्षेत्रका स्थानीयवासी चिसाे छल्न अन्यन्त्र जाँदा खुम्बु क्षेत्र सुनसान बनेको हो । सिजनमा पर्यटकले भरिभराउ हुने लुक्ला, नाम्चे, खुम्जुङ लगायतका क्षेत्र चिसो सुरु भएसँगै एक्लिएको सगरमाथा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्यायले जानकारी दिनुभयो ।

यहाँका मानिसहरू चिसो छल्न मङ्सिर पहिलो हप्तादेखि नै काठमाण्डाै, भारतको बोधगयालगायत नेपालका विभिन्न क्षेत्रमा जाने गरेका नाम्चेका पर्यटन व्यवसायी लामाकाजी शेर्पाले बताउनुभयो । खुम्बुमा मङ्सिरदेखि सुरु भएको अत्यधिक चिसो झन्डै फागुनसम्म नै रहिरहने भएकाले चिसो छल्न स्थानीयवासी अन्यत्रै जाने गरेका छन् ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत उपाध्यायका अनुसार खुम्बु क्षेत्रमा पर्ने गोरक्सेप, लबुचे, गोक्यो, छुकुङ, जोङ्ला, ठाङ्नाक एवम् थामेलगायतका बासिन्दाले पर्यटन सिजन सकिनासाथ कात्तिक अन्तिम हप्तातिरबाटै खुम्बु छोडिसकेका छन् भने त्यसभन्दा तलका बस्तीहरू खुम्जुङ, नाम्चे, लुक्ला लगायतका स्थानीयवासी मङ्सिरको पहिलो हप्तातिर बाहिर गएका हुन् ।

यहाँका बासिन्दा जाडो छल्न धेरैजसो काठमाण्डाै गएका छन् । स्थानीयवासी फुरी शेर्पाका अनुसार लुक्ला, नाम्चे लगायतका लज सञ्चालकहरूले घरधनी बाहिर जाँदा काम गर्ने मानिसलाई घर जिम्मा लगाएका छन् भने कतिपयले घरमा ताल्चा नै लगाएर जाने गरेका छन् ।

तेञ्जिङ हिलारी विमानस्थल लुक्लाबाट सिधै काठमाण्डाैसम्म हवाई जहाजको सुविधा भएकाले यस क्षेत्रका धेरैजसाे स्थानीयवासीकाे पहिलो रोजाइ काठमाण्डाै भएको नाम्चेका लामाकाजी शेर्पाले बताउनुभयो ।

भौगोलिक विकटता एवम् उच्च हिमाली क्षेत्र भएकाले मुस्किलले वर्षमा ६ महिनामात्र यस भेगमा बसोबास गर्ने गरेकाे स्थानीयवासी बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web