नारायणहिटी दरबार संग्राहालयभित्र रेस्टुरेन्ट!

पुस २०, २०७८ मा प्रकाशित | 543 views

काठमाडौँ । अबको केही हप्ताभित्र नारायणहिटी दरबार संग्राहालयभित्रै रेस्टुरेन्ट खुल्नेछ, जहाँ दरबार हेर्न जानेहरु मात्रै होइन, दरबारमार्ग घुम्न जानेहरुले पनि सहजै प्रवेश पाउनेछन् ।

सस्तो भाडामा जग्गा पाएपछि दरबार संग्रहालय हाताभित्रै रेस्टुरेन्ट बनाउने काम गर्दैछ, बतास अर्गनाइजेसन अन्तरगतको बीपीएस लिजिङ एन्ड म्यानेजमेन्ट । पशुपति क्षेत्र विकास कोष अन्तरगतको धर्मशालाभित्र पनि होटल चलाइरहेको समूह हो, बतास अर्गनाइजेसन ।

नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन समितिले संग्रहालयको गेटबाट पश्चिमपट्टि रेस्टुरेन्ट बनाउन भाडामा दिएको छ । रेस्टुरेन्ट सञ्चालनका लागि धमाधम पक्की संरचनाहरु तयार गरिँदैछ । यसका लागि काठमाडौं महानगरपालिकासँग अनुमति लिइएको छैन । समितिले संरचनाहरु अस्थायी भएको दावी गरेको छ ।

रेस्टुरेन्टको भवन बनाउन आवश्यक पर्ने जग्गाको मात्रै टेन्डर गरेको समितिले अब अरु क्षेत्र पनि प्रयोग गर्न अनुमति दिँदैछ । तीन वर्षका लागि लिज सम्झौता गरेको समितिले भवन रहने बाहेकका क्षेत्रमा पनि टेबल कुर्सी राख्न दिने तयारी गरेको छ ।

बतास अर्गनाइजेसनले कति क्षेत्रफलमा रेस्टुरेन्ट चलाउँछ भन्ने टुंगो लागेको छैन । नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन सञ्चालन समितिका कार्यकारी निर्देशक भेषनारायण दाहाल पारदर्शी ढंगबाट जग्गाको टेन्डर पारेरै बतासले रेस्टुरेन्ट खोल्न लागेको बताउँछन् ।

कति जमिन रेस्टुरेन्टले उपयोग गर्ने हो भन्नेबारे नापजाँच गर्न बाँकी रहेको उनले बताए । कति क्षेत्र भाडामा लगाउने भन्ने तय नै नगरी कसरी टेन्डर लाग्यो त ? भन्ने प्रश्नमा उनले भने, ‘भवन रहने जमिनका लागि भएको टेन्डर बतासले पाएको हो, उसले वरपर टेबल कुर्सी राख्ने क्षेत्रको पनि नापजाँच गरेर भाडा उठाउँछौं ।’

रेस्टुरेन्टबाट मासिक ५–६ लाख रुपैयाँसम्म भाडा उठ्ने अनुमान उनले सुनाए । समिति स्रोतका अनुसार बताससँग भने मासिक दुई लाख २० हजार रुपैयाँ उठाउने गरी खरिद सम्झौता भएको छ ।

१० रोपनी क्षेत्र रेस्टुेरन्टले प्रयोग गर्ने देखिएको समिति स्रोत बताउँछ । ‘नारायणहिटीको जग्गा प्रतिरोपनी मासिक ५० हजार रुपैयाँमा भाडामा लाग्ने देखिएको छ’, स्रोत भन्छ, ‘खाली जग्गा नभेटिने दरबारमार्ग क्षेत्रमा यो भाडादर कौडी बराबर हो ।’

तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई र सचिव यादवप्रसाद कोइरालाको पालामा जग्गा भाडामा लागेको हो । मन्त्री समितिको संरक्षक र सचिव अध्यक्ष रहने व्यवस्था छ । तत्कालीन पर्यटन सचिव तथा समिति अध्यक्ष केदारबहादुर अधिकारीका पालामा नारायाणहिटी दरबार संग्राहलयमा क्यान्टिनका लागि बनेको भवन र आसपासको केही क्षेत्र भाडामा लगाउने निर्णय भएको थियो । त्यसै समयमा भाडाका लागि न्युनतम् दर रेट तोक्ने काम भएको थियो ।

नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन सञ्चालन समितिका कार्यकारी निर्देशक दाहालका अनुसार रेस्टुरेन्ट सञ्चालनमा आएपछि त्यहाँ जानेसँग समितिले कुनै शुल्क उठाउने छैन ।

अर्थात् रेस्टुरेन्टमा जान संग्राहलयको टिकट काट्नुपर्ने छैन । रेस्टुरेन्टमा लाइभ म्युजिक सुन्ने सुविधा पनि हुनेछ । रेस्टुरेन्ट चलेपछि दरबारभित्र पार्किङ पनि खुल्नेछ ।

समितिका कार्यकारी निर्देशक दाहाल संग्रहालयलाई खर्च जुटाउन दरबार क्षेत्र भाडामा लगाउनु परेको बताउँछन् । ‘हामीले त गणतन्त्र स्मारकमा पनि रेस्टुरेन्ट चलाउन खोजेका हौं, तर ठेक्का लाग्न सकेन,’ उनले भने, ‘विदेशमा पनि ठूला–ठूला संग्रहालय परिसरमा क्याफ्टेरिया हुन्छ, अब नारायणहिटीमा पनि हुनेछ ।’

नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले २४ घण्टा नै सुरक्षा पहरा दिने भएकाले रेस्टुरेन्टले दरबारका सम्पदा असुरक्षित नहुने उनको दाबी छ । ‘विहान ८ बजेदेखि राति ९ बजेसम्म मात्रै रेस्टुरेन्ट चल्छ,’ उनले भने, ‘दरबार घुम्न आउनेहरुलाई यहाँ खाजाको सुविधा मिल्छ ।’

पुरातत्व विभागका पूर्वमहानिर्देशक विष्णुराज कार्की संग्रहालय घुम्नेका लागि रेष्टुरेन्ट आवश्यक नै देख्छन् । त्यसको व्यवस्थापन भने सही ढंगबाट हुनुपर्ने उनले बताए ।

‘जे–जे गरेपनि नारायणहिटी संग्रहालयभित्रको इतिहास, संस्कृति, रहनसहन, व्यवहार, मान्यता र जीवन्तता खल्बलिनु हुँदैन,’ उनले भने, ‘मान्छेहरु हिजो दरबारभित्र राजपरिवार कसरी बस्थ्यो भन्ने जान्न चाहन्छन्, त्यो पक्षलाई नबिथोल्ने गरी काम गर्नुपर्छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web