रोल्पा । रोल्पाको लुङ्ग्री गाउँपालिका–२ सिर्पका नरसिङ पुन हिजोआज आफ्नै खेतबारीमा व्यस्त हुनुहुन्छ । तरकारी खेतीबाट घरगाउँमै राम्रो आम्दानी हुने भएपछि पुनले व्यावसायिक तरकारी खेती सुरु गर्नुभएको हो ।
लुङ्ग्री गाउँपालिकाको समन्वयमा मानव अधिकार सचेतन केन्द्र हुरेक रोल्पाले सञ्चालन गरेको दिगो तथा मर्यादित, सामाजिक, आर्थिक सशक्तिकरण कार्यक्रमले तालिम तथा कृषि सामग्री सहयोग गरेपछि पुन जस्तै यहाँका स्थानीयवासी व्यावसायिक कृषिमा लागेका हुन् ।
गाउँमै कृषि प्राविधिकबाट प्राङ्गारिक झोल मल बनाउने ज्ञान पाएपछि उनीहरूलाई थप टेवा पुगेको छ । कृषि प्राविधिक गाउँमै आएर प्राङ्गारिक मल र विषादी बनाउन सिकाएपछि तरकारी खेतीमा सहज भएको लुङ्ग्री गाउँपालिका १ पाङका रणबहादुर विष्टले बताउनुभयो । ‘तितेपाती, सिस्नु लगायतका झारपातबाट विषादी बनाउने गरेका छौँ’, उहाँले भन्नुभयो, ‘यसको प्रयोगले उत्पादनमा पनि वृद्धि भएको छ ।’
विष्टले टनेलमा लगाएको गोलभेँडा खेतीले राम्रो उत्पादन दिएको छ । तरकारी उत्पादन फस्टाउँदै गएपछि आम्दानी पनि बढ्न थालेको उहाँको भनाइ छ । गएको वर्ष मात्रै झन्डै तीन लाख रुपैयाँ आम्दानी गरेको उहाँले बताउनुभयो ।
पालिका र विभिन्न संस्थाको सहयोगमा तालिम, अनुदान पाएपछि यहाँका स्थानीयवासी व्यावसायिक कृषिमा प्रेरित भएका हुन् ।
27.05¡ÆC