त्रिशूली । गुरुङ समुदायहरुले आज ल्होसार पर्व अर्थात (नयाँ वर्ष) मनाउन लागिरहेका छन् ।
बौद्ध धर्मअन्तर्गत महायान सम्प्रदायको साँस्कृतिक पर्व ल्होसार नुवाकोट, रसुवा, धादिङ सहित मुलुकभर रहेका गुरुङ समुदायले उल्लास र विशेष रौनकताको साथ मनाउन लागिरहेका छन् ।
गुरुङ समुदायले मान्दै आएको पात्रोअनुसार ‘ल्हो’ भन्नाले वर्ष तथा ‘सार’ भन्नाले नयाँ भन्ने सन्देश दिने गरेको छ । हरेक वर्ष ल्होसारका अवसरमा आफ्ना मान्यजनबाट आशीर्वाद लिने र शुभकामना आदानप्रदान गर्ने गरिएको छ । ल्होसार पर्वको अवसरमा गुरुङ समुदायहरुले जिल्लाको विभिन्न स्थानमा आज विविध साँस्कृतिक कार्यक्रम समेत आयोजना गरेका छन् । जिल्लाका विभिन्न स्थानमा साँस्कृतिक कार्यक्रम र प्रतियोगिता, शुभकामना तथा भोज कार्यक्रमहरु राखिएको छ । ल्होसार पर्वको अवसरमा नुवाकोटको विदुर सहित शिवपुरी गाँउपालिकाको विभिन्न वस्ती, सूर्यगढीको
लच्याङ, तादीको उर्लेनी लगायतको स्थान र रसुवाको विभिन्न स्थानमा धुमधामका साथ ल्होसार मनाउन लागिएको छ ।
ल्होसारको अवसरमा गुरुङ समुदायले रोधी बस्ने, परम्परागत संस्कृति प्रदर्शन गर्ने तथा एकसाथ भोज खाने गरेका छन् । ल्होसार मनाउन घर बाहिर रहेका परिवारका सदस्यहरु पनि आफ्नो गाउँघरमा भेला हुने गरेका छन् । गुरुङ समुदायको बासोबास रहेको स्थानमा सामाजिक सद्भाव स्वरुप अन्य समुदायपनि संलग्न भएर उत्साहको साथ ल्होसार पर्व मनाउने गरिएको छ ।
प्रत्येक १२ वर्षमा युग परिवर्तन हुने र यी वर्षलाई मुसा, गोरु, बाघ, खरायो, बिरालो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, कुकुर र बँदेलका प्रतीकका रूपमा गुरुङ समुदायले मनाउने गरेका छन् । नयाँ वर्षका रूपमा ल्होसार पर्व नेपालमा तामाङ, शेर्पा, गुरुङ, मगर, थकाली जिरेल, भोटे, दुरा, लेप्चा लगायतका जातिले मनाउने गरेका छन् ।
गुरुङले तमु ल्होसारका रूपमा आज, तामाङ लगायतका जातिले माघ शुक्ल प्रतिपदाका दिन सोनाम ल्होसारका रूपमा र शेर्पा तथा भोटे लगायतका जातिले फागुन शुक्ल प्रतिपदाका दिनदेखि ग्याल्पो ल्होसार पर्व मनाएर आफ्नो सस्कृति अनुसारको नयाँ वर्षको स्वागत गर्ने गरेका छन् । यसैबीच गुरुङ समुदायको मुख्यपर्व तमू ल्होसार पर्वको अवसरमा नेपाल सरकारले आज बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकले तमु ल्होसार पर्व मनाउनको लागी सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
27.06¡ÆC