त्रिशूली । नुवाकोट, रसुवा सहित देशभर मौसम बदली भइ धेरैजसो स्थानमा परेको पानी अहिले भने रोकिएको छ । हिजो दिनभर नै पानी परेसँगै देशका उच्च पहाडी र हिमाली भेगमा यही मङ्गलवार रातिदेखि हिमपात भएको जल तथा मौसम पूर्व अनुमान महाशाखाले जनाएको छ ।
नुवाकोटका उच्च पहाडी भेग सहित रसुवाका बिभिन्न स्थान र उपत्यका आसपासका डाँडाहरूमा हिमपात भएको छ । विभिन्न ठाउँमा हिमपातले जनजीवन कष्टकर बनेको छ । ठाउँ–ठाउँमा सडक बन्द समेत भएको हुँदा स्थानीयवासी तथा यात्रुहरु समस्यामा परेका हुन् । देशभर सामान्यदेखि पूर्ण बदली रही धेरैजसो ठाउँमा हल्का वर्षा र उच्च हिमाली तथा पहाडी भेगमा हिमपात भएको मौसम अहिले भने रोकिएको छ । मौसम पूर्व अनुमान महाशाखाले आज अपरान्हदेखि मौसममा सुधार हुने जनाएको छ । वर्षा र हिमपातले देशभर चिसो बढेकाले सुरक्षित रहनको लागी आवश्यक सतर्कता अपनाउन स्वास्थ्यकर्मीहरुले अनुरोध गरेका छन् । मौसमी प्रणालीका कारण पर्वतारोहण, हवाई÷यातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकाले चिसोबाट बच्न र हिमपातबाट हुन सक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।
महाशाखाको पछिल्लो विवरणमा काठमाडौको तापक्रम न्यूनतम ३ दशमलव ६ र अधिकतम तापक्रम १५ दशमलव २ डिग्री सेल्सियस मापन गरिएको छ । बर्षा तथा हिमपातका कारण नुवाकोट, रसुवामा बिधुत् सेवा समेत आंशिक रूपमा प्रभावित एंव बत्ति जाने आउने भइरहेको छ ।
27.05¡ÆC